जेठका लागि वाणिज्य बैंकहरूको ब्याज घट्यो

काठमाडौ, जेठ २ । वाणिज्य बैंकहरुले जेठ महिनाका लागि ब्याजदर घटाएका छन् । प्रकाशित सूचना अनुसार बैंकहरुको ब्याजदर बैशाख महिनाको तुलनामा सामान्य घटेको छ। वैशाख महिनाका लागि व्यक्तिगत मुद्दतीको अधिकतम ब्याजदर १९ वाणिज्य बैंकको औसत ७।१४ प्रतिशत रहेकोमा जेठ महिनाका लागि ७.०६ प्रतिशतमा कायम भएको छ ।

सार्वजनिक सूचीअनुसार व्यक्तिगत मुद्दती निक्षेपमा ७ बैंकले वैशाखकै दरलाई यथावत राखेका छन् । लक्ष्मी सनराइज, कुमारी, नेपाल, नेपाल इन्भेस्टमेन्ट मेगा, स्टान्डर्ड चार्टर्ड, हिमालयन र माछापुच्छ्रे बैंकले व्यक्तिगत मुद्दतीमा दिने अधिकतम ब्याजदर वैशाखकै दरलाई यथावत राखेका हुन् ।

९ वटा बैंकले ब्याजदर घटाएका छन् । एभरेस्ट, नबिल, सानिमा, सिद्धार्थ, एनएमबी, सिटिजन्स, प्राइम, राष्ट्रिय वाणिज्य र एसबीआई बैंकले ब्याजदर घटाएका हुन् । तीन वटा बैंकले भने ब्याजदर बढाएका छन् । ग्लोबल आईएमई, एनआईसी एसिया र प्रभु बैंकले ब्याजदर बढाएका हुन् ।

जेठ महिनामा व्यक्तिगत मुद्दतीमा सबैभन्दा धेरै एनआईसी एसिया र एनएमबी बैंकले ७.८ प्रतिशत तोकेका छन् । व्यक्तिगत मुद्दती निक्षेपमा अब कुनै पनि बैंकको ब्याजदर ८ प्रतिशत पनि नपुग्ने भएको छ ।

अधिक तरलताका बाबजुत कर्जा प्रवाह न्यून भएपछि बैंकहरुले ब्याजदर पनि घटाउँदै लगेका छन् । व्यक्तिगत मुद्दतीमा दिएको अधिकतम ब्याजदरको १ प्रतिशत विन्दुभन्दा कम मात्रै संस्थागत ब्याजदर दिन सक्ने व्यवस्था छ ।

यसअनुरुप अब संस्थाहरुलाई बैंकले ६.८ प्रतिशतभन्दा धेरै ब्याजदर दिने छैनन् । त्यस्तै रेमिट्यान्स मुद्दती खातामा भने बैंकहरुले ८.८ प्रतिशतसम्म ब्याजदर तोकेका छन् ।

प्रतिक्रिया दिनुहोस्