अदालतद्वारा पुनः मतगणनाको फैसला, व्यासका मेयरको अडान नतिजा तलमाथि हुँदैन

काठमाडौ, जेठ २ । उच्च अदालत पोखराले व्यास नगरपालिकामा दुई वर्ष अगाडि भएको निर्वाचनको पुनः मतगणना गर्न आदेश दिएसँगै मेयर (नगर प्रमुख) वैकुण्ठ न्यौपानेले पुनरावेदन दिने मनस्थिति बनाएका छन् ।

मंगलबार उच्च अदालतले स्वतन्त्र उम्मेदवार दीपक जोशीको पक्षमा फैसला सुनाएपछि न्यौपानेले पुनरावेदन जाने मनस्थिति बनाएका हुन् । अदालतले मंगलबार जोशीको माग बमोजिम पुनः मतगणना गर्न आदेश दिएको थियो ।

बुधबार सम्पर्क गर्दा कार्यालयमै रहेका न्यौपानेले पूर्णपाठ आएपछि पुनरावेदनका लागि सर्वोच्चमा जाने प्रतिक्रिया दिए । तर, चुनावमा कुनै धाँधली नभएकाले पुनः मतगणानानै भए पनि नतिजामा कुनै तलमाथि हुन नसक्ने न्यौपानेले दाबी गरे ।

‘फैसला भएको सुनेको छु । कुनै पत्र आएको छैन । यस विषयमा पुनरावेदन गर्ने अधिकार पनि छ । तर, मतगणना भएपनि त्यसको अर्थ केही हुँदैन’, उनले भने, ‘फैसलाले परिणाममा खासै कुनै अर्थ राख्दैन । २५२ भोटको अन्तर छ । १०।२० भोट तलमाथि हुन सक्छ ।’ पुनः मतगणना पोखरामा गर्ने हो कि निर्वाचन आयोगले नै गर्ने भन्नेबारे पनि टुंगो नभएको बताउँदै उनले सबै विषय फैसलाको पूर्णपाठ आएपछि स्पष्ट हुने विश्वास व्यक्त गरे ।

उनले प्रतिद्वन्द्वी जोशीकै उपस्थितिमा मतगणना भएको र उनी त्यतिबेला हार स्विकारेर बाहिरिएको दाबी गरे । मत परिणाम प्रभावित पार्न आफ्नो कुनै भूमिका नभएको पनि उनले दाबी गरे । यस्तै मेयरको रूपमा काम नगर्नु नगराउनु भनेर अदालतले अहिलेसम्म कुनै पत्र नपठाएकाले आफू कार्यालय जान नछाडेको उनको भनाइ छ ।

‘कार्यालय जान छोड्निँ । अहिले पनि कार्यालयमै छु । मिडियाबाट बाहिर आएको समाचार बाहेक मलाई आधिकारिक पत्र अदालतबाट आएको छैन । म एउटा प्रजातान्त्रिक नेता हुँ । अदालतको फैसला म मान्न तयार छु’, उनले भने ।

यसैगरी मेयरका प्रत्याशी दीपकराज जोशीले भने आफ्नो माग अनुसार नै अदालतबाट आदेश आएको प्रतिक्रिया दिएका छन् । ‘मतदान केन्द्रमा मलाई आक्रमण भयो । त्यसपछि पुनः मतदान भयो । हाम्रा एजेण्टहरु पनि उपस्थित हुने अवस्था आएन,’ उनले भने, ‘गणनामा गलत भएको भन्ने रिपोर्टिङ उतिबेलै आएपछि हामीले रिट दिएका हौं । त्रासको अवस्था हुँदा मतगणना गर्ने ठाउँमा पूरै समय हामी बस्न पनि सकेनौँ ।’

निर्वाचन कार्यालयले उपलब्ध गराएका विवरण हेरेपछि मात्रै अदालतबाट आदेश जारी भएकोले आफ्नो दाबी पुगेको जोशीले सुनाए ।

‘मतपत्रको १ सय र ५० को मुठा बनाउनुपर्ने कानुनी व्यवस्था छ । यहाँ कतै धेरै, कतै कम सङ्ख्याको मुठा बनाइयो । उनीहरूले बनाएको मुठा अनुसार नमिलेपछि त्यही हेरेर निर्णय गरिएको हो,’ अघि भने, ‘हामीले दाबी गरेको आधार पुष्टि भएको छ । न्याय पाइयो । पूर्ण पाठमा के आउँछ हेरौँ ।’

उनले पुनः गणना हुँदा आफूले जित्ने दाबी गरे । ‘न्यायालयले गणना गर्छ, जिल्लामा गर्छ कि पोखरामा गर्छ हेर्न बाँकी छ । कानुनी केही जटिलता छन् । केही समय लाग्न सक्छ,’ उनले भने, ‘१ देखि ८ नम्बर वडासम्म मैले जित्ने त्यसपछि अरुले जित्ने भन्ने हुँदैन । थुप्रै घोटला देखिएको छ । मलाई लाग्छ, पुनः गणना हुँदा मेरो पक्षमा निर्णय आउँछ । जित्नेमा विश्वस्त छु ।’

यता अदालतको फैसला सम्बन्धमा आयोगको भूमिका केही नहुने निर्वाचन आयोगका आयुक्त रामदत्त पाण्डेयले जानकारी दिए । मतगणना गर्ने विषय अदालतको क्षेत्राधिकार भएकाले उसैले छिनोफानो गर्ने उनको भनाइ थियो ।

‘पुनः मतगणना गर्ने विषयमा निर्वाचन आयोगको कुनै भूमिका हुँदैन । अदालतको रोहबरमा नै हुनेछ’, पाण्डेयले भने । २०७९ वैशाख ३० मा भएको निर्वाचनमा नगरपालिका प्रमुखमा पराजित भएका स्वतन्त्र जोशीले पुनः मतगणनाको माग गर्दै उच्च अदालत पोखरामा मुद्दा दर्ता गराएका थिए ।

त्यतिबेला कांग्रेसका उम्मेदवार न्यौपाने दुई सय ५२ मतान्तरले विजयी भएका थिए । न्यौपानेले १२ हजार ७८ र पराजित जोशीले ११ हजार ८ सय २६ मत पाएका थिए । नतिजापछि उनी मतगणनामा धाँधली भएको भन्दै अदालत पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्