२९ औं पटक सगरमाथामा आरोहण गरि आफ्नो किर्तीमानी आफैंले तोडे कामीरिता शेर्पाले
काठमाडौं, ३१ बैशाख । विश्वको सर्वोच्च शिखर सगरमाथा सबैभन्दा धेरै २८औं पटक आरोहण गरी विश्व किर्तीमान राखेको कामीरिता शेर्पाले आफ्नो र्किीमानी आफैं तोडेका छन् । कामीरिता आइतबार बिहान ७ बजेर २५ मिनेटमा शिखरमा आरोहण गरि २९ औं पटक सगरमाथामा आरोहण गरि आफ्नो किर्तीमानी आफैले तोडेका हुन् ।
यसै सिजनमा दोस्रो पटक पनि सगरमाथा चढ्ने योजना बनाइरहेका कामीरिता आधारशिविर पुगिसकेपछि निर्णय लिने मिङ्माले बताए । ५४ वर्षीय कामीरिताले मौसम अनुकूल भए यसैपालि दोस्रो पटक आरोहण गर्न सक्ने मनसाय बनाएका छन् । मिङ्माका अनुसार, कामीरिताले नेपाली र विदेशी गरी ८ जनाको समूहसहित आइतबार चुचुरो चुमेका हुन् ।
पर्यटन विभागका अनुसार, कामीरिता विदेशी भीभीआईपीको समूहका वरिष्ठ हाई अल्टिच्युड माउन्टेन गाइडका रूपमा २९ औं पटक सगरमाथा आरोहण गरेका हुन् । उनले सेभेन समिट र फोर्टिन पिक्स एक्सपिडिसन गरी दुइटा कम्पनीका आरोहीलाई सगरमाथा आरोहणको जिम्मेवारी सम्हालेका थिए । सोलुखुम्बुको थामेका कामीरिताले गत वर्षको वसन्तकालीन याममा आफैंले राखेको सर्वाधिक २७ औं पटकको आरोहणको रेकर्ड तोड्दै २८ औं पटक पुर्याएका थिए । कामीरितापछि सर्वाधिक आरोहण गर्नेमा सोलुखुम्बुको पाङ्बोचेका ४७ वर्षीय पासाङ दावा (पादावाँँँ) शेर्पा छन् । पासाङले गत वर्ष नै एकै सिजनमा दुई पटक सगरमाथा आरोहण गरी कामीरिताको २७ पटकको रेकर्ड बराबरी गरेका थिए । कामीरिताले सोही सिजनमा एक साताभित्रै दोस्रो पटक आरोहण गर्दै २८ औं पटकको पुनः नयाँ रेकर्ड बनाएका हुन् ।
कामीरिताले २०५१ सालमा र पासाङले २०५५ सालमा पहिलो पटक सगरमाथा आरोहण गरेका थिए । यसअघि सगरमाथा शिखरमा सबैभन्दा धेरै २१ पटक पुगेर आप्पा शेर्पाले २०६८ जेठमा रेकर्ड राखेका थिए । जुन रेकर्ड २०७० जेठमा फुर्वा तासी शेर्पाले बराबरी गरेका थिए । कामीरिताले भने आप्पा र फुर्वाले राखेको २१ औं पटक आरोहणको रेकर्ड २०७४ जेठमा भेट्टाएका थिए । त्यसयता उनले सर्वाधिक सगरमाथा आरोहणको रेकर्ड आफ्नो पोल्टामा पार्दै त्यसमा निरन्तर सुधार पनि गर्दै आइरहेका छन् ।
पर्यटन विभागका निर्देशक राकेश गुरुङका अनुसार, कामीरिताले यस वर्ष वसन्तकालीन यामका लागि एक पटकका लागि मात्र सगरमाथा आरोहणको अनुमति लिएका छन् । ‘यदि उहाँले दुई पटक आरोहण गर्ने चाहना राख्नुभएमा अनुमति लिन काठमाडौं आइरहनु पर्दैन । यस पटकदेखि सगरमाथा आधारशिविरमै पर्यटन विभागले फिल्ड अफिस स्थापना गरेको छ । त्यहीं ब्रिफिङ गरेर जुनसुकै आरोहीले सगरमाथाको यात्रा दोब्बर, तेब्बर बनाउन सक्नेछन् ।’
यस पटकको वसन्तकालीन हिमाल आरोहण सिजनअन्तर्गत शुक्रबार दोलखाका डेन्डी शेर्पाको नेतृत्वमा चुचुरोसम्मैका लागि बाटो खुला भएको थियो । उनीसहित १० जना शेर्पाको टोलीले सगरमाथाको दोस्रो शिविरदेखि चुचुरोसम्मै बाटो बनाउने जिम्मा पाएको थियो । ती सबै शेर्पा सेभेन समिट ट्रेक्स प्रालिमा आबद्ध हुन् । उक्त टोलीले वसन्तकालीन आरोहणका लागि सगरमाथाको ६४ सय मिटरमा रहेको दोस्रो शिविरदेखि चुचुरोसम्मै डोरी टाँग्ने काम गरेको थियो
प्रतिक्रिया दिनुहोस्