एमसीसीको पहिलो ठेक्का सम्झौता, न्यु–बुटवल सबस्टेसन ३९ महिनाभित्र निर्माण सम्पन्न गर्नुपर्ने

काठमाडौं, २७ बैशाख। एमसीए-नेपालले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अनुदानमा बन्ने न्यु-बुटवल सबस्टेसन निर्माण गर्न ठेक्का सम्झौता गरेको छ । यो एमसीसी परियोजना अन्तर्गत निर्माण सम्बन्धी पहिलो ठेक्का हो ।

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा निर्माण हुने ४०० केभी न्यु-बुटवल सबस्टेसन निर्माण गर्न लिंकसन इन्डिया प्रालिसँग एमसीए-नेपालले बिहीबार ठेक्का सम्झौता गरेको हो । सम्झौता अनुसार सबस्टेस निर्माण ३९ महिनाभित्र सम्पन्न गर्नुपर्ने छ ।

नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्प्सन, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ लगायतको उपस्थितिमा नवलपरासीमा आयोजित कार्यक्रममा एमसीए-नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्ट र लिंकसन इन्डिया प्रतिनिधिले हस्ताक्षर गरे ।

कार्यक्रममा राजदूत थम्प्सनले नेपालको ऊर्जासम्बन्धी आवश्यकता सम्बोधन गर्न कम्प्याक्ट उपयोगी रहेको र यसको निर्माण सुनिश्चित गर्न अमेरिकी सरकार नेपाल सरकारसँग सहकार्य गर्न प्रतिबद्ध रहेको बताए ।

‘घरेलु उपभोग, विस्तारित व्यापारिक, औद्योगिक संस्थाहरू तथा सीमापार विद्युतीय व्यापारका लागि भरपर्दो एवम् धान्न सकिने विद्युत् उपलब्ध गराइरहेको विद्युत् प्रसारण क्षमतामा यस ४०० केभी न्यु-बुटवल सबस्टेसनले सुधार ल्याउने छ,’ उनले भने ।

यो सबस्टेसन विद्युत् प्राधिकरणको प्राथमिकता प्राप्त संरचना रहेको कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । यो सबस्टेसनले सीमापार ऊर्जा व्यापारमा उल्लेख्य योगदान गर्ने तथा विद्यमान २२० केभी सबस्टेसनलाई सघाउने पनि उनले बताए ।

कार्यक्रममा एमसीए–नेपालका कार्यकारी निर्देशक विष्टले एमसीसी नेपाल कम्प्याक्ट कार्यान्वयनका क्रममा भइरहेका समष्टिगत प्रगतिबारे जानकारी गराए ।

‘एमसीए–नेपालले विद्युत् प्रसारण आयोजना अन्तर्गत प्रसारण लाइन र सबस्टेसनहरूको निर्माणसम्बन्धी सम्पूर्ण कार्यलाई तीव्रतापूर्वक अगाडि बढाइरहेको छ,’ उनले भने ।

एमसीए–नेपालले यो परियोजना अन्तर्गत तीनवटा सबस्टेसन निर्माण गर्दैछ । बाँकी दुई सबस्टेसन नुवाकोट रातमाटे र तनहुँ दमौलीमा निर्माण हुँदैछन् । यी दुई सबस्टेसन निर्माण गर्न पनि प्राविधिक रूपमा योग्य ठेकेदारले पेस गरेको वित्तीय प्रस्ताव खोलिसकिएको छ । बाँकी दुई सबस्टेसन निर्माण सम्बन्धी सम्झौतामा हस्ताक्षरका लागि अन्तिम तयारी रहेको विष्टले जानकारी दिए ।

एमसीए–नेपाल सञ्चालक समितिको फागुन २०८० मा बसेको बैठकले सीमापार ऊर्जा व्यापारलाई समयमै अगाडि बढाउन न्यु-बुटवल–गोरखपुर विद्युत् प्रसारण लाइनको नेपाली क्षेत्रमा पर्ने १८ किलोमिटर अंश निर्माण तत्काल अगाडि बढाउने निर्णय गरेको थियो । त्यसअनुसार उक्त खण्डको बोलपत्र आह्वान भइसकेको छ ।

एमसीए–नेपालले यसअघि नै विद्युत् प्रसारण लाइनको टेन्डर खोलेको थियो । तर, कम्पनीहरूले गरेको प्रस्तावित मूल्य एमसीएको लागत अनुमानभन्दा ६६ प्रतिशत उच्च भएपछि टेन्डर प्रक्रिया २६ असोज २०८० मा सम्पूर्ण रूपमा रद्द गरिएको थियो ।

त्यसमध्ये बुटवल-गोरखपुर १८ किलोमिटर प्रसारणलाइनलाई प्राथमिकतासाथ निर्माण गर्ने निर्णय एमसीए-नेपालको बोर्डले गरेको छ । सोहीअनुसार एमसीएले २ चैत २०८० मा उक्त खण्ड निर्माणका लागि टेन्डर आह्वान गरेको थियो ।

बाँकी २ सय ९७ किलोमिटर प्रसारणलाइन परियोजनाका लागि यही वर्ष (सन् २०२४) भित्र नयाँ टेन्डर खुलाउने तयारी रहेको एमसीए-नेपालले जनाएको छ ।

‘एमसीए–नेपालले अर्थ मन्त्रालय र एमसीसीको सहयोगमा २ सय ९७ किलोमिटर खण्डको पुनः टेन्डरका लागि आवश्यक काम गरिरहेको छ,’ उसले केही समयअघि उपलब्ध गराएको लिखित उत्तरमा भनेको छ, ‘त्यो ठेक्का प्रक्रियाको पुनः डिजाइन गर्ने र पुनः सुरुवात एक प्राविधिक प्रक्रिया हो ।

यसअघिको टेन्डरका प्रमुख लागतका अंगहरूलाई सम्बोधन गर्न डिजाइन मापदण्ड र निर्माण प्रावधान समीक्षा गर्न एमसीए-नेपालले एक सुपरभाइजरी इन्जिनियरिङ फर्मलाई नियुक्त गरेको छ । परिमार्जित डिजाइनअनुसार नयाँ टेन्टर आह्वान गरिने पनि एमसीए-नेपालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्