बुटवल उपमहानगरको हेलचक्रयाईले ढुवानी ग्राम बन्द हुने अवस्थामा

काठमाडौं, २३ बैशाख । बुटवल उपमहानगरपालिकाले स्थानीयबासीले उठाएका माग सम्बोधन गरी सहमतिको वातावरण बनाउनुपर्नेमा बेवास्ता गरेकाले व्यवसाय बन्द गर्न बाध्य भएको व्यवसायीको भनाइ छ ।

सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडेलमा बुटवल–१२ ढवाहामा तीन वर्षअघि सञ्चालनमा आएको ढुवानी ग्राम दुई दिनपछि बन्द गर्न लागेको लिखित जानकारी आइतबार व्यवसायीले उपमहानगरलाई गराएका छन् ।

स्थानीयबासीले पहुँचमार्ग बनाउन र ध्वनी प्रदूषण नियन्त्रको माग राख्दै आएका छन् । स्थानीयको माग सम्बोधन गरेर सहज वातावरण बनाउनुपर्नेमा बुटवल उपमहानगरपालिकाले बेवास्ता गर्दै आएकाले सेवा बन्द गर्न बाध्य भएको ढुवानी व्यवसायी समितिका अध्यक्ष जीतबहादुर भाटले बताए ।

‘हामीले बुटवल उपमहानगरका पदाधिकारी र नगर प्रमुखलाई पटक–पटक समस्या समाधानका लागि कुरा राख्यौं । तर सुनुवाइ भएन,’ भाटले भने ‘अहिले स्थानीयले संघर्ष समिति नै गठन गरेर गाडी गुड्न रोक लगाएपछि ढुवानी ग्रामबाट सेवा दिने अवस्था रहेन र बन्द गर्न बाध्य भयौं ।’

महेन्द्र राजमार्गअन्तर्गत नयाँगाउँदेखि करिब ३।६ किलोमिटर दक्षिणतर्फ रहेको ढुवानीग्राममा पुग्ने वैकल्पिक सडक नभएको, ढुवानीका गाडीको चर्को आवाजले ध्वनी प्रदूषण तथा वायु प्रदूषण भएको र दुर्घटनाको जोखिम बढेको भन्दै स्थानीय आन्दोलित भएका छन् ।

स्थानीयबासी डम्मरदेव अर्यालले बुटवल उपमहानगरले प्रतिवद्धताअनुसार काम नगरेको, ढुवानी ग्रामका लागि वैकल्पिक सडकको व्यवस्था नगरेको हुँदा आफूहरूले बस्तीको बीचको सडक प्रयोग गर्न नदिने बताए ।

पूर्व मेचीदेखि पश्चिम महाकाली सम्मका सहरमा सामान ढुवानी गर्ने स्टेसनको रूपमा रहेको ढुवानी ग्राम बन्द हुँदा देशभरको सेवा प्रभावित हुने उद्योग व्यापार संघ बुटवलका अध्यक्ष विष्णुप्रसाद पाण्डेले बताए ।

उनले भने, ‘ढुवानी ग्राम बन्द हुँदा निजी क्षेत्र तथा राज्यले समेत ठूलो आर्थिक क्षति व्यहोर्नुपर्ने भएकाले समस्या समाधानका लागि उपमहानगरपालिका, व्यवसायी र स्थानीयबीच गहन छलफल गरी समाधान खोज्नुपर्छ ।’

बुटवल उपमहानगरका प्रवक्ता शिव रानाले स्थानीयका सबै माग तत्काल पूरा गर्न नसकिने बताए । पहुँचमार्गका लागि उपमहानगरले लगानी गरेको भन्दै उनले स्थानीयले अवरोध गरे ढुवानी ग्राम नै बन्द गर्नुको विकल्प नभएको बताए ।

ढुवानी ग्रामसम्म पुग्नका लागि विकल्पको रूपमा रहेको तिनाउ–दानव करिडोरसँग पुलले जोड्ने भनिए पनि करिडोर नै निर्माण भएको छैन ।

सार्वजनिक–निजी साझेदारीको करिब ३७ करोड लागतमा ढुवानी ग्राम निर्माण भएको हो । सार्वजनिक–निजी साझेदारीको योजनाअनुसार रूपन्देही परिवहन प्रालिसँगको सहकार्यमा बुटवल उपमहानगरले ढुवानी ग्रामको कामलाई बहुवर्षीय योजनाको रूपमा अगाडि सारेको थियो ।

ढुवानी ग्राममा हाल ४४ जना ढुवानी व्यवसायी रहेका छन् । हेभी लोडका ढुवानीका सवारीलाई अलग्गै ठाउँको व्यवस्था मिलाएर व्यस्त बुटवलको ट्राफिक चापलाई कम गर्ने योजनाअनुसार स्थापना गरिएको ढुवानी ग्राम पहुँचमार्गको विवादले बन्द हुने स्थितिमा पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्