काठमाडौंमा सीप मेला सुरू
काठमाडौं, १९ बैशाख । काठमाडौंमा सीप मेला सुरू भएको छ । यो मेला गरि खानेका लागि अत्यान्त उपयोगी हुने छ । टुँडिखेलमा सञ्चालन गरिएको उक्त मेला काठमाडौं महानगरपालिकाले आयोजना गरेको हो ।
‘शिक्षालाई सीपसँग’, ‘सीपलाई श्रमसँग’ र ‘श्रमलाई उत्पादनसँग’ जोडेर सीप नहुनेलाई सीपयुक्त बनाउनु, सीप भएकालाई रोजगार तथा स्वरोजगार बनाउनु, रोजगारमा भएका तर सीप नभएकाहरुको व्यावसायिक स्तर वृद्धि गराएर आयमा वृद्धि गराउने उद्देश्यसहित यो मेला आयोजना गरिएको महानगरले जनाएको छ ।
मेलामा १ महिनामा २ हजार ८१ जनालाई उच्च माग भएका पेशासँग सम्बन्धित निःशुल्क तालिम दिइनेछ । तालिम पाएका सबैलाई रोजगार, स्वरोजगार वा ओजेटी ट्रेनिङ सुनिश्चित गरिएको महानगरलेजनाउको छ ।
सीप मेलामा तालिमका लागि १० वटा क्षेत्र निर्धारण गरिएका छन् । क्षेत्रभित्र २९ प्रकारका पेशागत तालिम हुनेछन् । मागका आधारमा थप क्षेत्र र पेशा थप गर्ने योजना महानगरको छ ।
मेलाको उद्घाटन गर्दै उपमेयर सुनीता डंगोलले दक्ष जनशक्तिलाई रोजगारदातासँग जोड्नु सीप मेलाको मूल उद्देश्य रहेको बताइन् । ‘रोजगारी र आयवृद्धि काठमाडौंको समृद्धि’ नारा तय गरेर अभियान चलाएको उनको भनाइ छ ।
बजारमा दक्ष श्रम जनशक्ति नपाएको रोजगारदाताको गुनासोलाई पनि महानगरले सम्बोधन गरी श्रमिक र रोजगारदातालाई जोड्ने पुलको काम गर्ने डंगोलले बताइन् ।
उनले भनिन्, ‘हामीले दिएको तालिम र उत्पादनसँग जोड्न सकेका छौं कि छैनौं हामी सबैमा यो ठूलो प्रश्नको रूपमा आएकाले सीप मेला आयोजना गरेका हौं । रोजगारदाता र श्रमिकको तालमेल नमिलेको कारणले गर्दा मिसम्याचलाई म्याचिङ गराउन ध्यान दिएका छौं । हामीले सीप मेलाबाट पुलको काम गर्दैछौं । तालिम लिएकालाई रोजगारदातासँग जोड्न खोजेका छौं ।’
स्वरोजगारको बाटो देखाउने लक्ष्य पूरा गर्न काठमाडौं महानगरको एकल प्रयासबाट सम्भव नभएको भन्दै उनले निजी क्षेत्रको पनि साथ आवश्यक भएकाले सबैलाई सँगै लिएर जाने प्रतिवद्धता व्यक्त गरे ।
प्रतिक्रिया दिनुहोस्