निर्जीवन बिमा कम्पनीहरुले तेस्रो त्रैमासमा संकलन गरे ३० अर्ब बढी बिमा शुल्क

काठमाडौं,१८ वैशाख । निर्जीवन बिमा कम्पनीहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमास अर्थात चैत मसान्तसम्ममा ३० अर्ब रुपैयाँ बढी बिमा शुल्क आर्जन गरेका छन् ।

नेपाल बिमा प्राधिकरणको चैत मसान्तसम्मको तथ्यांक अनुसार ३ वटा लघु बिमासहित १७ वटा निर्जीवन बिमा कम्पनीहरुले कुल ३० अर्ब १५ करोड ३० लाख २३ हजार रुपैयाँ बिमा शुल्क संकलन गरेका हुन् ।

कुल बिमा शुल्कमध्ये ३ वटा लघु निर्जीवन बिमा कम्पनीको हिस्सा १५ करोड ५३ लाख रुपैयाँ मात्र रहेको छ । फागुन मसान्तमा निर्जीवन बिमा कम्पनीहरुको जारी बिमालेख संख्या ३ लाख २०२ रहेको छ ।

यस अवधिमा शिखर इन्सुरेन्सले सबैभन्दा धेरै ४ अर्ब २२ करोड ५५ लाख रुपैयाँ बिमा शुल्क आम्दानी गरेको छ । त्यसपछि, सगरमाथा लुम्बिनी इन्सुरेन्सले ३ अर्ब ५५ करोड २० लाख रुपैयाँ बिमा शुल्क संकलन गरेको छ । यस्तै, सिद्धार्थ प्रिमियर इन्सुरेन्सले पनि २ अर्ब ८९ करोड माथि बिमा शुल्क संकलन गरेको छ । नेको, हिमालयन एभरेष्ट र आइजीआई प्रुडेन्सियल इन्सुरेन्सले पनि २ अर्ब माथि बिमा शुल्क संकलन गरेका छन् । त्यसैगरि नेसनल इन्सुरेन्स कम्पनीले भने सबैभन्दा थोरै ८७ करोड ४१ लाख रुपैयाँ मात्र बिमा शुल्क संकलन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्