भारत र पाकिस्तानसँग एसिया कपमा भिड्ने नेपालको सपना अधुरै

काठमाडौं, ७ बैशाख। नेपाल एसीसी प्रिमियर कप टी–२० प्रतियोगिता २०२४ को पहिलो सेमिफाइनल खेलमा युएईसँग ६ विकेटले पराजित भएको छ । योसँगै एसिया कप खेल्ने नेपालको सपना पनि समाप्त भएको छ ।

१२० रनको लक्ष्य युएईले १७।२ ओभरमा ४ विकेट गुमाउँदै फाइनलमा स्थान पक्का गर्‍यो । युएईका ओपनर अलिशान शराफुले ४१ बलमा ५ चौका र २ छक्कासहित ५५ र आयन खान ३ रनमा नटआउट रहे ।

कप्तान मोहम्मद वासिम ११, विष्णु सुकुमारन २८, आसिफ खान १० र सैइद हैदर १४ रनमा आउट भए । नेपालका गुलशन झाले २, ललित राजवंशी र सोमपाल कामीले १र१ विकेट लिए ।

त्यसअघि ओमानको मस्कटस्थित अल अमरेत क्रिकेट मैदान १ मा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ९ विकेट गुमाउँदै ११९ रन बनाएको थियो । सन्दीप जोराले ४० बलमा ४ चौका र २ छक्कासहित सर्वाधिक ५० रन बनाएका थिए ।

ओपनर कुशल भुर्तेल शून्य, आसिफ शेख ८, कप्तान रोहित पौडेल ५, कुशल मल्ल ३, दीपेन्द्रसिंह ऐरी ५ र सोमपाल कामी २ रनमा आउट हुन पुगेका थिए ।

तल्लोक्रममा करण केसीले १२ बलमा २ छक्कासहित १७ तथा गुलशन झा १५ बलमा १ चौका र १ छक्कासहित २० रनमा आउट भएका थिए ।

युएईका जुनैद सिद्दिक, बासिल हामिद र अली नासिरले २–२ विकेट लिए । ओमैद शफी रहमान, आयन खान र मोहम्मद फारुकले १–१ विकेट लिए । योसँगै टी(२० विश्वकपपछि हुने एसिया कपमा भारत र पाकिस्तानसँग खेल्ने नेपालको सपना पनि समाप्त भएको छ ।

गतवर्षको एसीसी प्रिमियर कपको फाइनलमा नेपालले युएईलाई ७ विकेटले हराउँदै एकदिवसीय एसिया कपमा भारत र पाकिस्तानसँग खेलेको थियो ।

नेपाल समूह ‘ए’ बाट ४ खेलमा अपराजितका साथ शीर्षस्थानमा रहेर सेमिफाइनल खेलेको थियो । यहिँ मैदानमा नेपालले २०२२ मा आईसीसी टी(२० विश्वकप छनोट ए को सेमिफाइनलमा पनि युएईसँग हारेको थियो ।

नेपालले अब तेस्रो स्थानका लागि शनिबार ओमान र हङकङमध्ये एकसँग खेल्नेछ । दोस्रो सेमिफाइन खेलमा आज ओमान र हङकङबीच केही समयमा सुरु हुनेछ ।

विजेता टोलीले युएईसँग फाइनलमा एसिया कपमा पुग्न प्रतिस्पर्धा गर्दा पराजित हुने टोलीले एसीसी इमर्जिङ टिम्स एसिया कपमा पुग्न नेपालसँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्