किताब, पोशाक तथा स्टेशनरी विद्यालयबाटै बिक्री गर्न र किन्न बाध्य नबनाउन शिक्षा विभागको निर्देशन

काठमाडौ, २३ चैत । अब का.म.न.पा. भित्रका विद्यालयहरुले किताब, पोशाक तथा स्टेशनरी विद्यालयबाटै विक्री गर्न तथा किन्न बाध्य बनाउन नपाउने भएका छन् । महानगरपालिका अन्तर्गतको शिक्षा विभागले विद्यालयहरुलाई परिपत्र गर्दै सामुदायिक र संस्थागतले शैक्षिक वर्ष २०८१ का लागि प्रयोग गर्ने पाठ्यपुस्तक, पोशाक तथा स्टेशनरी विद्यालयबाटै विक्री गर्न र किन्न बाध्य नबनाउन निर्देशन दिएको छ ।

शिक्षा विभागले विद्यालयहरुलाई परिपत्र गर्दै प्रचलित कानुन विपरीत यस्तो नगर्न सचेत गराएको हो । यसैगरी, सामुदायिक विद्यालयहरुले पाठ्यक्रम विकास केन्द्रले तयार पारेका पाठ्यपुस्तक मात्र प्रयोग गर्न पाउनेछन् । अंग्रेजी माध्यमका पाठ्यपुस्तक प्रयोग गर्नु परेमा केन्द्रले अनुवाद गरेर प्रकाशन गरेका वा सूचीकृत भएका मात्र प्रयोग गर्नुपर्ने महानगरपालिकाले जनाएको छ । यस बाहेकका पाठ्यपुस्तकका लागि महानगरपालिकाले भुक्तानी नगर्ने समेत जानकारी दिइएको छ ।

शिक्षा विभागले विद्यालयहरुलाई परिपत्र गर्दै संस्थागत विद्यालयले पनि पाठ्यक्रम विकास केन्द्रले सूचीकृत गरेका पाठ्यसामग्री मात्र प्रयोग गर्न गराउनुपर्ने जनाएको छ ।

विद्यालयहरुले यस विपरीतका कार्य (स्वीकृत पाठ्य सामग्री प्रयोग नगरेमा, पोसाक, स्टेशनरी लगायतका सामग्री विद्यालयबाट खरिद गर्न विद्यार्थी तथा अभिभावकहरुलाई बाध्य गराएमा) शिक्षा ऐन, २०२८, शिक्षा नियमावली २०५९ तथा काठमाडौं महानगरपालिका शिक्षा ऐन २०७५, नियमावली २०७४ तथा प्रचलित कानुन बमोजिम कारबाही हुने परिपत्रमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्