सुनचाँदीमा प्रत्येक दिन नयाँ रेकर्ड

काठमाडौं, २२ चैत । दिनानुदिन सुनचाँदीको मल्य आकासिदै गएको छ । प्रत्येक दिन नयाँ रेकर्ड राखेको छ । नेपाली बजारमा बिहीबार पनि सुन र चाँदी दुबैको भाउ बढेर ऐतिहासिक उचाइमा पुगेको छ। यस दिन सुनको भाउ तोलामा एक हजार रुपैयाँले बढेको छ भने चाँदीको भाउ तोलामा ४० रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला १ लाख ३४ हजार रुपैयाँमा कारोबार भइरहेको छ भने तेजाबी सुन प्रतितोला १ लाख ३३ हजार ३५० रुपैयाँमा खरिदबिक्री भइरहेको छ।

बुधबार सुनको मूल्य १ लाख ३३ हजार रुपैयाँ पुगेर रेकर्ड बनाएको थियो। बिहीबार सो रेकर्डलाई तोड्दै नयाँ रेकर्ड बनाएको हो। यस्तै बिहीबार चाँदीको मूल्य पनि तोलामा ४० रुपैयाँ बढेर प्रतितोला १ हजार ६५० रुपैयाँ पुगेको छ। यो हालसम्मकै उच्च मूल्य हो। बुधबार चाँदी प्रतितोला १ हजार ६१० रुपैयाँमा खरिदबिक्री भएको थियो।

पछिल्लो समय अन्तराष्ट्रिय बजारमा सुनको भाउ लगातार बढ्दो क्रममा छ। अन्तराष्ट्रिय बजारमा पनि सुनको भाउले दैनिक जसो नयाँ रेकर्ड बनाइरहेको छ। अन्तराष्ट्रिय बजारमा सुनको भाउ अहिले प्रतिऔंस २ हजार ३०० डलर पुगिसकेको छ।

अमेरिकी केन्द्रीय बैंकले कुनै पनि समय ब्याजदर घटाउन सक्ने भएकोले अन्तराष्ट्रिय बजारमा सुनको भाउ लगातार बढ्दै गएको हो। फेडले अहिले महँगी नियन्त्रणमा आएकाले ब्याजदर कटौती गर्ने तयारी गरिरहेको छ।

नेपालमा सुनको भाउ अन्तराष्ट्रिय बजारमा हुने मूल्य घटबढको आधारमा तय हुने गरेको छ। यसले गर्दा नेपालमा पनि सुनको भाउ लगातार बढ्दै गएको हो। अहिले सुनको भाउ अझै बढ्ने संकेत देखिएको व्यवसायीहरु बताउछन्।

सुनको भाउ अत्याधिक बढेपछि अहिले सुन कारोबार भने केहि घटेको व्यवसायीहरु बताउछन्। अहिले ग्राहकहरुले अत्यावश्यक बाहेकको सुन खरिद नगरेको र कतिपयले आफ्नै पुरानो सुन ल्याएर समेत नयाँ सुनका गरगहना बनाइरहेको व्यवसायीहरु बताउछन्। सुनचाँदीमा भएमो मल्य वृद्धिले गर्दा सवैसाधरणलाई सुन खरिद गर्न कठिन भएको छ ।

प्रतिक्रिया दिनुहोस्