कमलको ह्याट्रिकसँगै आयरल्यान्ड ए १५७ रनमा अलआउट

काठमाडौं २१ चैत । नेपालका तीव्र गतिका बलर कमलसिंह ऐरीको ह्याट्रिकसँगै आयरल्यान्ड ए ले पहिलो एक दिवसीय अभ्यास खेलमा नेपाल ए लाई १५८ रनको सामान्य लक्ष्य दिएको छ ।

त्रिवि क्रिकेट मैदानमा टस‍ जितेर पहिला ब्याटिङ रोजेको आयरल्यान्ड ए ३८।३ ओभरमा १५७ रनमा अल आउट भयो ।

आयरल्यान्ड ए का केड कार्माइकलले ७७ बलमा ४ चौकासहित सर्वाधिक ५१ रन बनाए । निल रकले ३२ बलमा २ चौका र ३ छक्कासहित ३९ रन बनाए ।

ओपनर जेम्श म्याकुलम र स्टेफन डोहेनी १२र१२ रनमा आउट भए । पिटर मुरले २१ रन बनाए ।

नेपालको बलिङसामु आयरल्यान्ड ए का कुनै पनि ब्याटरले ठूलो इनिङ खेल्न सकेनन् । नेपालका कमलसिंह ऐरीले ६।३ ओभरमा १ मेडनसहित २१ रन खर्चेर ४ विकेट लिए ।

कमलले ३९ औं ओभरको पहिलो बलमा लियाम म्याकार्थीलाई डीप मिडविकेटमा साहबबाट २ रनमा क्याच, दोस्रो बलमा म्याथ्यु हम्फ्रेज र तेस्रो बलमा बेन ह्वाइटलाई बोल्ड गर्दै ह्याट्रिक लिए ।

२०२२ मा चोटपछि टोलीमा फर्किएका कमलले टी–२० पछि एकदिवसीयमा पनि उच्च प्रदर्शन गरेका हुन् । मौसम ढकाल र साहब आलमले दुई।दुई तथा रिजन ढकालले एक विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्