दलीय भागबण्डा नमिल्दा त्रिविमा रेक्टर र रजिष्ट्रारको नियुक्ति प्रक्रिया रोकियोः उपकुलपति बराल

काठमाडौं, २० चैत। त्रिभुवन विश्वविद्यालय (त्रिवि)का उपकुलपति प्रा.डा.केशरजंग बरालले रेक्टर र रजिस्ट्रार पदमा दुई जनाको नाम सिफारिस गरे पनि दलीय भागबण्डा नमिल्दा ६ दिनदेखि नियुक्ति प्रकृया रोकिएको बताए । त्रिवि ऐन अनुसार रेक्टर र रजिष्ट्रार पदमा उपकुलपतिले सिफारिस गरेका व्यक्तिलाई कुलपति (प्रधानमन्त्री)ले नियुक्ति गर्नुपर्ने कानुनी व्यवस्था छ ।

उपकुलपति बरालले आफूले सिफारिस गरेर पठाएको नाममा प्रधानमन्त्रीबाट अहिलेसम्म निर्णय नआएको बताए । सिफारिस गरिएका नाम परिवर्तन गर्न दबाब आएको सम्बन्धमा बरालले आफूलाई अहिलेसम्म कसैले पनि फोन गरेर दबाब दिने काम नगरेको तर हालसम्म प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नियुक्ति नदिएको बताए ।

उनले भने, ‘प्रधानमन्त्री ज्यूलाई कसले दबाब दिइरहेको छ मैले थाहा पाउने कुरा भएन । मलाई चाहिँ अहिलेसम्म कसैले पनि यो गर, त्यो गर भनेको छैन । तर प्रधानमन्त्रीबाट निर्णय आएको छैन ।’

त्रिवि स्रोतका अनुसार उपकुलपति बरालले रेक्टरमा प्रा.डा. खड्क केसी र रजिष्ट्रारमा प्रा.डा. केदार रिजालको नाम सिफारिस गरिसकेका छन् । तर, सत्ता साझेदार नेकपा (एमाले) ले रेक्टरमा प्रगतिशील प्राध्यापक संघका अध्यक्ष प्रा.डा.बेदराज केसीलाई अगाडि सारेपछि नियुक्ति प्रकृया रोकिएको छ ।

आफूलाई टिम बनाउन दिनुपर्ने अडानमा रहेका बराल कुनै पार्टीले सिफारिस गरेको व्यक्ति, त्यसमा पनि राजनीतिक दलको संगठनकै नेतृत्व सम्हालेको व्यक्तिलाई पदाधिकारी बनाउन नसकिने अडानमा टसमस छन् ।

प्रा.डा. खड्क केसी र प्रा.डा. केदार रिजाल
प्रा.डा. बरालले उपकुलपतिको नियुक्ति लिएसँगै त्रिवि ठूलो संस्था भएकाले ‘राजनीतिक संयोजन’ र ‘सन्तुलन’ जरुरी रहे पनि पार्टीले जसलाई पठायो, त्यसलाई स्वीकार गरेर विश्वविद्यालय चलाउन नसकिने तर्क गर्दै आइरहेका छन् ।

त्रिवि कुलपति तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले १० फागुन २०८० मा प्रा.डा.बराललाई उपकुलपति नियुक्त गरेका थिए । बरालले आफूलाई टिम बनाउन दिने भए मात्रै नियुक्ति पत्र बुझ्ने सर्त राखेका थिए ।

तर अहिले सिफारिस गरेका नामहरुमा पनि व्यक्ति तोकेर भागबण्डा खोजिन थालेपछि उनी आफूले सिफारिस गरेको व्यक्ति नियुक्ति नहुने हो भने पदमा नबस्ने मुडमा पुगेको उनी निकट प्राध्यापकहरु बताउँछन् । यो मामिला थाहा पाउने एकजना प्राध्यापक भन्छन्, ‘टिम बनाउन नदिने हो, अर्थात आफूले सिफारिस गरेको व्यक्तिहरुको नियुक्ति नहुने हो भने उहाँ राजीनामा दिने सोचाइमा हुनुहुन्छ ।’

उपकुलपति बरालले ६ चैतमा सात दिनको समयावधि दिएर रेक्टर र रजिष्ट्रार पदमा आवेदन माग गरेका थिए । सोही समयमा परेका आवेदनहरुमध्येबाट उनले दुई जनाको नाम सिफारिस गरेका हुन् ।

१२ पुस २०८० मा रजिष्ट्रार पेशल दाहालको कार्यकाल पूरा भएपछि रिक्त पदमा १८ पुसदेखि कानुन संकायका डीन डा. कृष्णप्रसाद बस्याल निमित्त रजिष्ट्रार छन् । यसैगरी तत्कालीन रेक्टर प्रा.डा. शिवलाल भूसालको कार्यकाल ६ चैतमा पूरा नहुँदै उनी निमित्त उपकुलपति भए । त्यसपछि रिक्त रेक्टर पदमा निमित्त उपकुलपति भूसालले कृषि तथा पशुविज्ञान संकायका डीन प्रा.डा.भार्गव धिताललाई निमित्त रेक्टरको जिम्मेवारी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्