महिला टी–२० एसिया कपमा पाकिस्तानसँग नेपालको पहिलो खेल -(तालिका सहित)

काठमाडौं, १४ चैत । नेपाली राष्ट्रिय महिला टोलीले एसीसी महिला टी–२० एसिया कप क्रिकेट प्रतियोगितामा आफ्नो पहिलो खेल जुलाई १९ तारिखमा पाकिस्तानसँग खेल्ने भएको छ । प्रतियोगिता जुलाई १९ देखि २८ तारिखसम्म श्रीलङ्कामा आयोजना हुन गइरहेको छ ।
एसियाली क्रिकेट काउन्सिल (एसीसी) ले नेपाली टोलीलाई समेत थप गरेर खेल तालिका सार्वजनिक गरेको हो । एसीसीले अघिल्लो संस्करणको तुलनामा टोलीको सँख्या थप गर्ने निर्णय लिएपछि नेपालले प्रतियोगिता खेल्ने अवसर पाएको हो ।

आठ टोलीको सहभागिता रहने उक्त प्रतियोगितामा नेपाली टोली समूह ‘ए’ मा परेको छ । उक्त समूहमा नेपाल र पाकिस्तानका अतिरिक्त भारत र संयुक्त अरब इमिरेट्स (यूएई) पनि रहेका छन् । नेपालले आफ्नो दोस्रो खेल जुलाई २१ तारिखमा यूएईसँग खेल्नेछ ।

यसैगरी नेपालले समूहगत चरणको अन्तिम खेल जुलाई २३ तारिखमा भारतसँग खेल्नेछ । प्रतियोगिताको समूह ‘बी’ मा बंगलादेश, मलेसिया, आयोजक श्रीलंका र थाइल्यान्ड रहेका छन् ।

यसै वर्ष भएको महिला प्रिमियर कपको सेमिफाइनलमा पराजित भएका टोलीलाई पनि प्रतियोगितामा समावेश गरिएको हो । एसियाली क्षेत्रमा महिला क्रिकेटको स्तर वृद्धि गर्दै लैजाउने उद्देश्यले एसीसीले यस्तो निर्णय लिएको छ ।

यो संस्करणमा भारत र पाकिस्तानबीचको खेल भने जुलाई २१ तारिखमा खेलिने छ । प्रतियोगिताका सबै खेल डम्बुलामा खेलाइने छ । प्रारम्भिक चरणको समाप्तिपछि दुवै समूहबाट दुई–दुई टोली प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्नेछन् ।

प्रतियोगिताको दुवै सेमिफाइनल खेल जुलाई २६ तारिखमा खेलिने छ । फाइनल खेल भने जुलाई २८ तारिखमा खेलाइने छ ।

खेलको तालिका

जुलाई १९ः नेपालविरुद्ध पाकिस्तान

जुलाई १९ः भारतविरुद्ध यूएई

जुलाई २०ः मलेसियाविरुद्ध थाइल्यान्ड

जुलाई २०ः श्रीलंकाविरुद्ध बंगलादेश

जुलाई २१ः नेपालविरुद्ध यूएई

जुलाई २१ः भारतविरुद्ध पाकिस्तान

जुलाई २२ः श्रीलंकाविरुद्ध मलेसिया

जुलाई २२ः बंगलादेशविरुद्ध थाइल्यान्ड

जुलाई २३ः पाकिस्तानविरुद्ध यूएई

जुलाई २३ः नेपालविरुद्ध भारत

जुलाई २४ः बंगलादेशविरुद्ध मलेसिया

जुलाई २४ः श्रीलंकाविरुद्ध थाइल्यान्ड

जुलाई २६ः दुवै सेमिफाइनल

जुलाई २८ः फाइनल

प्रतिक्रिया दिनुहोस्