फिफा विश्वकपअन्तर्गत बहराइनसँग एसियाली क्षेत्रको दोस्रो चरणको छनोट खेल खेल्दै नेपाल

काठमाडौँ, ८ चैत। नेपालले बिहीबार बहराइनसँग बहराइनकै घरेलु मैदानमा फिफा विश्वकपअन्तर्गत एसियाली क्षेत्रको दोस्रो चरणको छनोट खेल खेल्दै छ ।
यसअघि नेपालले विश्वकप छनोटको तयारीका क्रममा मलेसियासँग अभ्यास खेल खेलेको थियो । उक्त खेलमा नेपाली टोली १–५ गोलले पराजित भएको थियो । दोस्रो चरणको विश्वकप छनोटमा नेपाल र बहराइनबिच दुई खेल खेलिने छ ।

एउटा खेल बहराइन र अर्को खेल नेपालको घरेलु मैदानमा खेलिनु पर्ने थियो । तर, दशरथ रङ्गशालाको अवस्था सन्तोषजनक नरहेको कारण देखाउँदै अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले दोस्रो खेल पनि बहराइनमै खेल्ने सहमति जनाएको हो । नेपाल र बहराइनबिचको दोस्रो खेल चैत १३ गते खेलिने छ ।

विश्व फुटबल महासङ्घ (फिफा) को पछिल्लो वरीयतामा नेपालभन्दा बहराइन निकै नै अगाडि छ । पछिल्लो वरीयतामा बहराइन ८२औँ स्थानमा आसीन छ । नेपाल भने पछिल्लो फिफा वरीयताको एक सय ७५औँ स्थानमा छ ।

विगतकै परम्परालाई निरन्तर दिँदै यसपटक पनि एन्फाले ठूलो सङ्ख्यामा खेल पदाधिकारी मलेसिया हुँदै बहराइन पुगेका छन् । कतिपय पदाधिकारी सिधै बहराइन पुगेका हुन् । एन्फाले विश्वकप छनोट खेलका लागि आवश्यक नरहेका व्यक्तिलाई समेत बहराइन पठाएको छ । यसले केहहि विावाद सकेत भ्रएको छ ।

यो विषयलाई लिएर युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद् (राखेप) पनि एन्फासँग रुष्ट देखिएको छ । विश्वकप छनोट खेलमा ठुलो सङ्ख्यामा असम्बद्ध व्यक्तिसमेत पठाइएको भन्दै खेलकुद मन्त्रालयले एन्फामाथि कारबाही प्रक्रिया अगाडि बढाउन राखेपलाई निर्देशनात्मक पत्र पठाएको थियो ।

राष्ट्रिय खेलकुद विकास ऐन–२०७७ ले अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता वा अन्य खेल गतिविधिमा खेलाडी वा पदाधिकारी पठाउँदा राखेपको पूर्वस्वीकृति लिनुपर्ने व्यवस्था गरेको छ । तर, एन्फालाई विश्वकप छनोट खेलमा ठुलो सङ्ख्यामा पदाधिकारी पठाउँदा आफूले कुनै स्वीकृति नदिएको जवाफ राखेपले मन्त्रालयलाई फर्काएको थियो ।

त्यसपछि मन्त्रालयले एन्फालाई कानुन बमोजिम कारबाही गरी त्यसका जानकारी आफूलाई पठाउन राखेपसँग अर्को पत्राचार गरेको थियो । यसका अतिरिक्त खेलकुद मन्त्रालयले राखेपसँग स्वीकृति लिएका व्यक्तिलाई मात्र अन्तर्राष्ट्रिय खेलकुद गतिविधिका लागि वैदेशिक प्रस्थान अनुमति प्रदान गर्न गृह मन्त्रालयसँग समेत अनुरोध गरेको थियो ।

ढिलै भए पनि एन्फाले विश्वकप छनोट खेलका लागि ४१ सदस्यीय टोली बहराइन पठाउने भन्दै राखेपसँग अनुमति मागेको थियो । दोस्रो चरणमा एन्फाले बहराइन पठाउन लागेको थप १० जनाको नाम पनि त्यो सूचिमा समावेश गरिएको थियो ।

तर, राखेपले दुईजना बाहेक अन्य व्यक्तिको विश्वकप छनोट खेलमा कुनै आवश्यकता नरहेको भन्दै दुई जनालाई मात्र बहराइन पठाउन स्वीकृति दिएको थियो । राखेपले डा। राजु डंगोल र मिडिया अफिसर गोविन्दराज नेपाललाई मात्र बहराइन पठाउन स्वीकृति प्रदान गरेको थियो ।

राखेपले स्वीकृति प्रदान नगरे पनि एन्फाले भने बाँकी आठजनालाई पनि बहराइन पठाइसकेको छ । नेपाल र बहराइनबिचको खेल विश्वकप छनोटसँगै एएफसी एसियन कपको छनोट खेल पनि हो । उक्त खेलका लागि घोषित नेपाली टोलीमा गोलरक्षकका रूपमा किरण चेम्जोङ, विशाल सुनार र अभिषेक बराल रहेका छन् ।

 

यसैगरी रक्षापङ्क्तिमा अभिषेक लिम्बु, अजय चौधरी, अनन्त तामाङ, छिरिङ लामा, सनिस श्रेष्ठ, सौभाग्य राई र सुमित श्रेष्ठ रहेका छन् । मध्यपँक्तिमा भरत खवास, विशाल बस्नेत, लकेन लिम्बु, मणिकुमार लामा, मनिष डाँगी, रोहन कार्की र उत्सव राई रहेका छन् । अग्र पङ्क्तिमा अञ्जन विष्ट, दिनेश हेम्जन, जिलेस्पीजंग कार्की, हिसुब थपलिया, समिर तामाङ र सञ्जीव विष्ट छन् । यो खेल नेपालको लागि चुनौति पूर्ण छ । जित्नै पर्ने बाध्यता समेत छ ।

प्रतिक्रिया दिनुहोस्