राष्ट्रियसभा अध्यक्षको उम्मेदवार छनोटका लागि माओवादीको दाधिकारी बैठक साँझ

काठमाडौं, २७ फागुन । राष्ट्रियसभा अध्यक्षको उम्मेदवार छनोटका लागि सत्तारुढ नेकपा (माओवादी केन्द्र)ले आइतबार साँझ पदाधिकारी बैठक बोलाएको छ । नयाँ गठबन्धन गरेपश्चात नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जसपा, नेकपा एकिृकत समाजवादी पार्टी लगायतको दलसँग नयाँ गठबन्धन गरेपश्चात उत्पन्न गतिविधिका समेतलाई ध्यान दिंदै माओवादीले फागुन २१ गते प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले राष्ट्रियसभा अध्यक्ष माओवादीलाई दिने सहमति गरेको थियो । सचिव दीनानाथ शर्माले उम्मेदवार छनोटको विषयमा निर्णय लिन अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डुले पदाधिकारी बैठक बोलाएको जानकारी दिए ।

उम्मेदवार ६ वर्षेबाट बनाउने कि ४ वर्षेबाट बनाउने भन्नेमा कुनै टुङ्गो नलागेको शर्माको भनाइ छ । यद्यपि ६ वर्षबाट उम्मेदवार बनाउने पार्टीभित्र धेरैको सुझाव आएको उनले जानकारी दिए । ‘राष्ट्रिय सभा अध्यक्ष ६ वर्षेबाट बनाउने कि ४ वर्षेबाट बनाउने भन्नेमा निष्कर्षमा पुगेका छैनौँ । त्यसका लागि अध्यक्षज्यूले साँझ पदाधिकारी बैठक बोलाउनु भएको छ’, उनले भने ।

वर्तमान उपाध्यक्ष माओवादीबाट उर्मिला अर्याल रहेकी छन् । उम्मेदवार छनोटका लागि अर्यालले राजीनामा दिनुपर्ने भएकाले समस्या देखिएको छ । राजीनामा दिने वा अध्यक्षको उम्मेदवार बनाउने भन्ने विषयमा पार्टीबाट कुनै जानकारी नआएको अर्यालले बताइन् ।

‘पार्टीबाट अध्यक्षको उम्मेदवार बनाउने वा राजीनामा दिने विषयमा अहिलेसम्म कुनै जानकारी आएको छैन । पार्टीको निर्णय हेरेर मैलो आफ्नो धारणा बनाउँछु । अहिले नै केही भन्ने स्थिति छैन’, रातोपाटीसँग उनले भनिन् ।

गठबन्धनको सहमति अनुसार उपाध्यक्ष एमालेको भागमा परेको छ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना ६ वर्षे कार्यकाल पुरा गरी २० गते बिदाइ भएपछि रिक्त पदका लागि २९ गते निर्वाचन गर्ने तयारीमा संसद सचिवालय रहेको छ । उम्मेदवार छनोटका लागि सोमबार उम्मेदवार मनोनयन दर्ता हुने सम्भावना छ ।

अध्यक्ष माओवादीको भागमा परेपछि ६ वर्षे कार्यकाल भएकाबाट उम्मेदवार बनाउन प्रचण्डमाथि दबाब परेको छ । स्रोतका अनुसार प्रचण्डले आफ्ना भाइ समेत रहेका नारायणप्रसाद दाहाललाई उम्मेदवार बनाउन चाहेका छन् । त्यसका लागि नारायणले तीव्र लबिङ गरिरहेका छन् ।

‘राष्ट्रिय सभा अध्यक्षमा नारायण दाहालजीको बलियो सम्भावना रहेको छ । अध्यक्षको चाहना पनि उहाँलाई बनाउने छ । नारायणजीको पदावधि ४ वर्षे भएकाले ६ वर्षेबाट बनाउनु पर्नेमा पार्टीमा बलियो मत रहेको छ । उम्मेदवार छान्ने अधिकार अध्यक्षलाई नै दिएका हुनाले उहाँले जसलाई बनाउनुहुन्छ, उही हुन्छ । ६ वर्षबाट भएमा झक्कु सुवेदीको सम्भावना बलियो रहेको छ’, स्रोतको दाबी छ ।

यदि चार वर्षे कार्यकालबाट उम्मेदवार बनाउने भए उर्मिलालाई नै अध्यक्षको उम्मेदवार बनाउँदा राम्रो सन्देश जाने मत पनि प्रकट भएको छ । पुराना, अनुभवी र महिला भएकाले राजीनामा दिन लगाएर अध्यक्षको उम्मेदवार बनाएर जाँदा उपयुक्त हुने मत पनि बलियो छ ।

२०७८ सालमा अर्याल मधेस प्रदेशबाट महिला कोटाबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएकी थिइन् । नारायण राष्ट्रपतिबाट सदस्यमा मनोनीत भएका हुन् । यी दुवै जनाको कार्यकाल आगामी २०८४ मा सकिँदै छ । २०७८ को ब्याजमा उर्मिला, नारायणसहित, जगतबहादुर पार्की, नरबहादुर विष्ट, भुवनबहादुर सुनार, सुरेश आले मगर रहेका छन् ।

माघ ११ गते भएको निर्वाचनमा माओवादीबाट ६ वर्षका लागि झक्कुसहित श्रीकृष्ण अधिकारी, मनरुपा शर्मा, विष्णुबहादुर विक र रेणु चन्द निर्वाचित भएकी छिन् ।

यस्तै २०७६ मा निर्वाचन जितेका सबैभन्दा हाइ प्रोफाइलका नारायणकाजी श्रेष्ठ रहेका छन् । उनी अहिले उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री छन् । श्रेष्ठबाहेक त्यतिबेला निर्वाचित हुनेमा गंगा बेल्वासे, जगप्रसाद शर्मा, गोपी अछामी, राधेश्याम पासवान, माया प्रसाद शर्मा र तारामान स्वार रहेका छन् । उनीहरूको कार्यकाल २०८२ मा सकिने भएकाले उम्मेदवार बन्ने सम्भावना नभएको नेताहरू बताउँछन् ।

५९ सिटमध्ये माओवादी १८ सिटसहित पहिलो दल छ । यस्तै कांग्रेसका १६, एकीकृत समाजवादीका ८, जसपाको ३, लोसपाका १ र जनमोर्चाका १ सदस्य छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट १ जना मनोनीत गर्न बाँकी छ । राष्ट्रिय सभामा निर्वाचित हुने अबको अध्यउक्ष को भन्ने विषयमा धेरै प्रतिष्पधा हुने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्