महिला टी-२०आई शृंखलाको चौथो खेलमा आज नेपालले  थाइल्याण्डसँग खेल्दै

काठमाडौं, २२ माघ। काठमाडौंमा जारी नेपाल, नेदरल्याण्ड्स र थाइल्याण्ड सम्मिलित महिला टी-२०आई शृंखलाको आफ्नो चौथो खेलमा आज नेपालले र थाइल्याण्डसँग खेल्दै छ ।

खेल दिउँसो सवा १२ बजेदेखि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरू हुँदैछ। नेपालको कप्तानमा इन्दु बर्मा छन् भने थाइल्याण्डको कप्तानमा नारुमोल चाइवाइ छन् ।

पछिल्ला तीनवटै खेलमा पराजित भएको नेपालका लागि यस खेल जित्नैपर्ने दबाब रहनेछ । नेपाल यस खेलमा पराजित भएमा शृंखला जित्ने सम्भावना सकिनेछ । बिहीबार भएको पहिलो खेलमा नेपाल नेदरल्याण्ड्ससँग पराजित भएको थियो शनिबार थाइल्याण्डसँग र आइतबार नेदरल्याण्ड्ससँग दोस्रोपटक पराजित भएको थियो ।

थाइल्याण्डले भने तीनवटै खेलहरू जितेको छ । यस खेल जितेमा थाइल्याण्ड शृंखला जित्ने बलियो अवस्थामा पुग्नेछ । महिला टी-२०आई वरियतामा थाइल्याण्ड १३औं स्थानमा छ भने नेपाल २०औं स्थानमा छ । थाइल्याण्ड महिला विश्‍वकप पनि खेलिसकेको टोली हो ।

शृंखलामा सबै टोलीले एक अर्कासँग ३(३ खेल खेल्ने छन् । नेपालले यसपछि माघ २३ मा नेदरल्याण्ड्स र माघ २५ मा थाइल्याण्डसँग खेल्ने छ । फाइनल नहुने भएकाले सबै खेल सकिँदासम्म धेरै खेल जितेर उच्च अंक हासिल गर्ने टिम श्रृंखलाको विजेता बन्ने प्रावधान छ ।

नेपालको टोली: इन्दु बर्मा (कप्तान), रुबिना क्षेत्री, सीता रानामगर, पुजा महतो, अलिशा कुमारी यादव, बिन्दु रावल, सम्झना खड्का, कविता कुँवर, ममता चौधरी, कविता जोशी, रेवती धामी, रोमा थापा, राजमती ऐरी, मनिषा उपाध्याय र ईश्‍वरी विष्ट

 

प्रतिक्रिया दिनुहोस्