नेदरल्यान्ड्ससँग टी–२० सिरिजको उपाधि भिडन्तमा नेपालले असफलता भोग्यो
काठमाडौं, २२ फागुन । नेपाल, नामिबिया र नेदरल्यान्ड्सबीचको टी–२० सिरिजअन्तर्गत फाइनलमा नेदरल्यान्ड्सले नेपाललाई ४ विकेट हानेर पराजित गरेको छ।
नेपालले उपाधि जित्न दिएको १८५ रनको लक्ष्य नेदरल्यान्ड्सले ३ बल बाँकी छदा ६ विकेट गुमाएर पार गर्यो।
अन्तिम ओभरमा नेदरल्यान्ड्सलाई ७ रन चाहिएको थियो भने उसको ४ विकेट बचेको थियो। नेपालका लागि करण केसीले बलिङ गर्दा नेदरल्यान्ड्सका भान डेर मर्वी र भान डेर गुटेन ब्याटिङमा थिए। पहिलो बलमा मर्वीले १ रन दिँदा दोस्रो बल चौका भयो। तेस्रो बल छक्का हुँदा नेदरल्यान्ड्सले सिरिजको उपाधि जित्यो।
१६औं नेपालका अभिनास बोहराले नेदरल्यान्ड्सका विक्रमजित सिंहलाई २९ रनमा आउट गरेपछि नेपालको आसा बढेको थियो। तेस्रो विकेटका लागि साइब्रान्डसँग ५० रनको साझेदारी गरेका सिंहलाई अभिनासले कुशल मल्लबाट क्याच गराएपछि खेल रोमाञ्चक मोडमा पुगेको थियो।
अर्को ओभरमा दीपेन्द्रसिंह ऐरीले नेदरल्यान्ड्सका कप्तान स्कट इडवार्डलाई अनिल साहबाट २ रनमा क्याच गराए। जससँगै नेपालले ६ बलको अन्तरमा नेदरल्यान्ड्सको २ विकेट लियो।
तर अभिनास बहोराले १८औं ओभरमा २१ रन खर्चिएपछि नेपालमाथि दबाब परेको थियो। अभिनासलाई नेदरल्यान्ड्सका साइब्रान्डले पहिलो दुई बलमा लगातार चौका र त्यसपछिका दुई बलमा लगातार छक्का प्रहार गरेका थिए।
तर साइब्रान्ड १९औं ओभरको पहिलो बलमा कुशल मल्लको बलिङमा सन्दीप जोराबाट क्याच भए। साइब्रान्डले ४८ रन बनाउने क्रममा २९ बलमा ४ चौका र ३ छक्का प्रहार गरे। चौथो बलमा तेजा निडामानुरुलाई सन्दीप जोराबाटै २ रनमा क्याच हुँदा नेदरल्यान्ड्सलाई अन्तिम ८ बलमा १२ रन चाहिएको थियो।
त्यसअघि नेपालले नवौं ओभरमा मात्र सफलता हात पारेको थियो। नेपालले नवौं ओभरमा नेदरल्यान्ड्सको दुई विकेट लिएको थियो। दुवै विकेट कुशल मल्लले लिए।
नवौं ओभरमा नेपालका कुशल मल्लले म्याक्स ओुडाउडलाई २२ रनमा दीपेन्द्रसिंह ऐरीबाट क्याच गराए। यससँगै नेपालले नेदरल्यान्ड्सको ८३ रनको पहिलो विकेटको साझेदारी तोड्न सफल भयो।
यहि ओभरको पाँचौं ओभरमा कुशलले माइकल लेभिटलाई ५४ रनमा कप्तान रोहित पौडेलबाट क्याच गराए। नेदरल्यान्ड्सले त्यतिबेला ८.५ ओभरमा ८४ रन जोडेको थियो।
११औं ओभरमा आफ्नो दोस्रो स्पेलको बलिङ गरेका कुशलले सो ओभरमा दोस्रो बलदेखि लगातार तीन छक्का खाएका थिए। उनलाई विक्रमजित सिंहले छक्का हिर्काएका थिए। पाँचौ बलमा सिंहको प्रहार हावामा रहदा कुशल भुर्तेलले क्याच छाडेका थिए।
बलिङमा नेपालका कुशल मल्लले चार विकेट लिए। उनले ३ ओभरमा ३३ रन खर्चिए।
नेपालले जोड्यो १८४ रन
मंगलबार कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ८ विकेटको क्षतिमा १८४ रन जोड्यो।
नेपालका लागि आसिफ शेखले ४७ रन जोडे। तीन रनले अर्धशतक बनाउन चुकेका आसिफ डच बलर माइकल लेभिटको एलबिडब्लूको धरापमा पर्दा ३७ बलमा १ चौका र ३ छक्का प्रहार गरे।
अर्का ओपनर कुशल भुर्तेलले २० जोडे। उनले १० बलमा १ चौका र २ छक्का प्रहार गरे।
चौथो ओभरको तेस्रो बलमा डच बलर भान डेरलाई स्कुप सट प्रहार गर्ने क्रममा उनी बोल्ड भएका थिए। आउट हुनु अघिल्लो बलमा भुर्तेलले उस्तै सटमा छक्का प्रहार गरेका थिए। फेरि उस्तै सट खेल्ने क्रममा उनी आउट हुन पुगे।
उनी नेदरल्यान्ड्सविरुद्धको अघिल्लो खेलमा १२ रनमा आउट हुँदा त्यसअघिका दुई खेलमा डक आउट भएका थिए।
त्यसअघि ओपनर आसिफले तेस्रो ओभरको पहिलो बलमा २ रनमा जीवनदान पाएका थिए। भिभियन किंग्माको प्रहारलाई हावामा उडाएपछि आसिफको क्याच माइकल लेभिटले मिस गरेका थिए।
कप्तान रोहित पौडेलले २५ रन बनाए। उनले १९ बलमा ३ चौका र १ छक्का प्रहार गरे। दीपेन्द्रसिंह ऐरीले एलबिडब्लूको धरापमा पर्नुअघि १ रन मात्र जोड्न सके।
आक्रामक ब्याटिङ गरेका कुशल मल्लले ११ बलमा २६ रन बनाए। उनले १७ औं ओभरमा लेभिटलाई लगातार ३ छक्का हिर्काए।
कुशल आउट भएकै १८औं ओभरको अन्तिम बलमा करण केसी ४ बलमा ९ रन जोडेर आउट भए। अर्को ओभरको पहिलो बलमा गुल्सन झा ३४ रनमा आउट भए। उनले २५ बलमा ३ छक्का प्रहार गरे। लगत्तै अर्को बलमा आरिफ शेख शून्यमा आउट हुँदा नेपालले तीन बलमा तीन विकेट र आठ बलमा चार विकेट गुमायो।
प्रतिश जिसी र सोमपाल कामी ६६ रनमा नटआउट रहे।
बलिङमा नेदरल्यान्ड्सका फ्रेड क्लासेन, भान डेर, लेभिट र साइब्रान्डले २–२ विकेट लिए।
प्रतिक्रिया दिनुहोस्