त्रिकोणात्मक टी–२० आई सिरिजको फाइनलमा टस जितेको नेपालले पहिला ब्याटिङ गर्दै

काठमाडौं, २२ फागुन । नेपालले त्रिकोणात्मक टी२० आई सिरिजको फाइनल खेलमा नेदरल्यान्ड्ससँग टस जितेर पहिला ब्याटिङ गर्ने भएको छ ।

त्रिवि क्रिकेट मैदानमा भएको टसमा नेपालका कप्तान रोहितकुमार पौडेलले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।

नेपालले आफ्नो प्लेइङ ११ मा कुनै परिवर्तन गरेको छैन । नेपाल घरेलु मैदानमा लगातार तेस्रो पटक त्रिकोणात्मक टी–२० आई सिरिजको उपाधि जित्न चाहन्छ ।

नेपालले २०२१ को फाइनलमा नेदरल्यान्ड्सलाई १४२ रनले हराउँदै उपाधि जितेको थियो ।

२०२२ को त्रिकोणात्मक टी(२० फाइनलमा भने नेपालले पपुवा न्युगिनीलाई ५० रनले हराएको थियो ।

यस सिरिजमा नेदरल्यान्ड्स ४ खेलमा ५ अंकका साथ शीर्षस्थानमा रहेर फाइनल खेलेको हो । नेपाल ४ खेलमा ४ अंकका साथ दोस्रो स्थानमा रहेर फाइनल खेलेको हो ।

नामिबिया ३ अंकका साथ पुछारमा रहेर बाहिरिएको थियो । नेपाल नामिबियासँग २० रन र नेदरल्यान्ड्ससँग २ रनले पराजित भएको थियो ।

त्यसपछि खेलमा पुनरागमन गर्दै नेपालले नामिबियालाई तीन रन र नेदरल्यान्ड्सलाई ६ विकेटले हराउँदै फाइनल यात्रा पक्का गरेको हो ।

पछिल्लो खेलमा नेपालले नेदरल्यान्ड्सलाई १२० रनमा अल आउट गरेको थियो । नेपाल र नेदरल्यान्ड्सबीच ११ टी–२० आई खेल भएका छन् ।

जसमा नेपाल समान ५ खेलमा जित र हार व्यहोरेको छ । एक खेल नतिजाविहीन छ । टीयुमा नेपाल र नेदरल्यान्ड्सबीच हालसम्म पाँच टी–२० आई खेल भएका छन् । जसमा नेपाल ३ खेलमा विजयी भएको छ ।

नेपालको प्लेइङ ११ः कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल (कप्तान), कुशल मल्ल, प्रतिश जिसी, आरिफ शेख, सोमपाल कामी, करण केसी, अभिनाश बोहरा, गुलशन झा र दीपेन्द्रसिंह ऐरी ।

बेञ्चः विवेक यादव, अनिल शाह, ललित राजवंशी र सन्दीप जोरा ।

प्रतिक्रिया दिनुहोस्