त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा केशरजंग बराल नियुक्त

काठमाडौं,१० फागुन । त्रिभुवन विश्वविद्यालयका उपकुलपतिमा प्रा. डा. केशरजंग बराल नियुक्त भएका छन् ।

त्रिविका कुलपति तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिहीबार बराललाई उपकुलपति नियुक्त गरेका हुन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार हाल पोखरामा रहेका बराल काठमाडौं फर्केर नियुक्तिपत्र बुझ्नेछन् ।

प्रधानमन्त्री प्रचण्डले उपकुलपति सिफारिसका लागि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राई नेतृत्वमा समिति गठन गरेका थिए । समितिले चित्रबहादुर बुढाथोकी, बराल र टंकनाथ धमलाको नाम सिफारिस गरेको थियो ।

प्रधानमन्त्रीले पहिलो नम्बरमा रहेका बुढाथोकीलाई छाडेर बराललाई उपकुलपति नियुक्त गरेका हुन् । सिफारिस समिति स्रोतका अनुसार विभिन्न मापदण्डको आधारमा दिइएको अंकमा बुढाथोकी २ अंकले अगाडि थिए ।

उपप्राध्यापकको रुपमा महेन्द्र मोरङ क्याम्पसबाट अध्यापन सुरु गरेका बराल २०६४ मा पोखरा विश्वविद्यालयको उपकुलपति भएका थिए ।

पोखरा विश्वविद्यालयलाई विस्तार गर्ने श्रेय बराललाई जान्छ । निश्चित शहरका २३ वटा सम्बन्धन प्राप्त कलेजलाई बढाएर उनले ५४ मा पुर्‍याएका थिए । उनले नर्सिङ, स्नातक तहको इलेक्ट्रिकल, इलेक्ट्रोनिक इन्जियिरिङ जस्ता शैक्षिक कार्यक्रम सुरु गराए ।

फर्मास्युटिकल साइन्स, मेडिकल ल्याब टेक्नोलोजी र नर्सिङ अध्यापन सुरु गराउँदा आकर्षक पारिश्रामिक दिएर अध्यापक ल्याए । त्यही क्रममा उनीमाथि स्केलभन्दा बढी तलब खुवाउनकै लागि कार्यक्रम चलाउन स्वीकृति दिएको आरोप लाग्यो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा समेत हालेको थियो, यद्यपि उनले सफाइ पाए ।

बरालको उपकुलपतिको रुपमा कार्यशैली हेर्दा राजनीतिक नियुक्ति लिएर आए पनि उहाँले पोखरा विश्वविद्यालयलाई उचाइमा पुर्‍याएर छोड्नुभएको महसुस हुन्छ । तर त्यही आधा।मा त्रिविमा पनि उनी नै उपयुक्त भन्न सकिदैन । त्रिवि ठूलो संस्था हो उहाँ त्यही गतिमा काम गर्न सक्नुहोला भन्न गाह्रो छ ।

प्रतिक्रिया दिनुहोस्