नेप्से परिसूचक घट्यो, कारोबार रकम भने बढ्यो

काठमाडौं,१० फागुन । आज साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ । गत साताको अन्तिम कारोबार दिनदेखि घट्न थालेको नेप्सेले आज पनि सोही क्रमलाई निरन्तरता दिएको हो ।

बिहीबार नेप्से परिसूचक २०.७६ अंक घटेर २००५.८३ विन्दुमा झरेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ३.४९ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.४३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.२२ अंक घटेको छ ।

नेप्से घटेपनि यस दिन कारोबार रकम भने बढेको छ । अघिल्लो कारोबार दिन २ अर्ब २४ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३०९ स्टकको ७७ हजार ८३३ पटकको कारोबारमा ३ अर्ब २० करोड ६१ लाख रुपैयाँ बराबरको ९५ लाख १८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।

समाज लघुवित्त वित्तीय संस्थाको शेयर यस दिन पनि सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । जोशी हाइड्रोपावर र सामलिङ्ग पावर कम्पनीको शेयर मूल्य भने यस दिन करिब १० प्रतिशत बढेको छ । यस दिन हिमालयन उर्जा विकास कम्पनीको शेयरमूल्य सर्वाधिक ७.६० प्रतिशत घटेको छ ।

कारोबार रकमका आधारमा यस दिन पनि जोशी हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन १४ करोड ८७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । त्यस्तै, यस दिन गोर्खाज फाइनान्सको १४ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्