छक्का पञ्जा ३ मा दिपककोे जोडी प्रियंका कि दिपिका ?

“छक्का पञ्जा” र “छक्का पञ्जा २” को सफलतापछि दिपक राज गिरी र दिपा श्री निरौलाले “छक्का पञ्जा ३” निर्माण गर्ने भएका छन् । यसका लागि लामो समय देखि अभिनेत्रीको खोजी भइरहेको थियो ।

अब भने, छक्का पञ्जा टिमले अभिनेत्री पनि फाइनल गरिसकेको छ । सिनेमा ‘ऐश्वर्य’मार्फत अभिनयमा डेब्यु गरेकी अभिनेत्री दीपिका प्रसाईँ सिनेमाका लागि फाइनल भएकी छिन् ।

निर्माण पक्षसँग उनको सिनेमाका लागि आधिकारिक सम्झौता भइसकेको छ । दीपिका फाइनल भएसँगै अब ‘छक्का पञ्जा ३’का सबै कलाकारहरु लगभग फाइनल भएका छन् ।

सिनेमामा अर्की अभिनेत्रीको रुपमा प्रियंका कार्की नै रहने छिन् । सिनेमाका मुख्य अभिनेता रहने दीपकराज गिरीको जोडीको रुपमा प्रियंका र दीपिका मध्ये को प्रस्तुत हुने हो त्यो भने अहिले नै भन्न सकिँदैन ।

यसका अलावा सिनेमामा केदार घिमिरे, जितु नेपाल, निर शाह, अनुरागमान सिंह कुँवरलगायतका कलाकारको मुख्य भूमिका रहने भएको छ । सिनेमाका छायाँकार पुरुषोत्तम प्रधान छन् भने सिनेमामा अर्जुन पोखरेल र दीपक शर्माको संगीत रहेको छ ।

यतिबेला गीतसंगीतको छनौट अन्तिम चरणमा छ । दर्जनौँ गीतहरु सुनेपछि दीपक शर्मा र अर्जुन पोखरेलको संगीतले ‘छक्का पञ्जा ३’ मा मौका पाउने भएको छ ।

दीपाश्री निरौलाको तेस्रो निर्देशन रहने सिनेमा ‘छक्का पञ्जा ३’ दशैको फूलपातीको अवसर पारेर प्रदर्शनमा आउने छ । वैशाख १७ गतेदेखि फ्लोरमा जाने यस सिनेमाको छायांकन पोखरा, दमौली र इलाममा हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्