मलेसियासँग ४ विकेटले पराजितसँगै एसिया कप खेल्ने सपना समाप्त

काठमाडौं, ४ फागुन । एसीसी महिला प्रिमियर कप क्रिकेट प्रतियोगिताको दोस्रो सेमिफाइनलमा मलेसियाले नेपाललाई चार विकेटले पराजित गरेको छ । नेपालले जीतका लागि प्रस्तुत गरेको १ सय १६ रनको लक्ष्य मलेसियाले २० ओभरमा ६ विकेटको क्षतिमा सफलतापूर्वक पछ्याएको हो ।

योसँगै मलेसिया यो वर्ष आयोजना हुने टी–२० एसिया कपमा पनि छनोट भएको छ । यसअघि पहिलो सेमिफाइनल खेलमा यूएईले थाइल्यान्डलाई पराजित गर्दै एसिया कपमा स्थान पक्का गरिसकेको छ । एसिया कपमा भारत, पाकिस्तान, बङ्गलादेश, श्रीलङ्का र छनोट चरणबाट आएका दुई टोली सहभागी हुनेछन् ।

मलेसियाको जीतमा एल्सा हन्टरले ५३ बलमा ६९ रनको शानदार पाली खेलिन् । उनलाई महिरा इस्माइलले १६ तथा मास एलिसाले १३ रन बनाउँदै साथ दिए । नेपालका लागि कविता जोशी र सीता रानामगरले २–२ विकेट लिए भने कविता कुँवर र रुविना क्षेत्रीले १–१ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय १५ रन बनाएको थियो । नेपालका लागि कप्तान इन्दु वर्माले सर्वाधिक २९ रनको योगदान दिइन् । उनले ३७ बलमा दुई चौका हिर्काइन् । त्यस्तै ओपनर कविता कुँवरले ३१ बलमा २३ रन बनाइन् । उनले पनि दुई चौका नै प्रहार गरिन् । रुबिना क्षेत्रीले १८ बलमा २० रन बनाइन् । उनले यस क्रममा दुई चौका प्रहार गरेकी थिइन् ।

खेलको अन्त्यतिर डली भट्टले विस्फोटक पाली खेलिन् । उनले रनआउट हुन अघि १४ बलमा २५ रन बनाइन् । उनले दुई छक्का र एक चौका हिर्काइन् । मलेसियाका लागि माहिरा इजाती इस्माइलले २ विकेट लिइन् भने विनिफ्रेड दुराइसिंगमले १ विकेट लिइन् ।

प्रतिक्रिया दिनुहोस्