विद्यार्थीसँग कुलपति’ कार्यक्रम झापामा सम्पन्न

काठमाडौँ  । सांस्कृतिक सत्ता र समताको लागि’ भन्ने अभियानको पछिल्लो शृङ्खला अन्तर्गत पहिलोपटक ‘विद्यार्थीसँग कुलपति’ कार्यक्रम नेपाल प्रज्ञा -प्रतिष्ठानका कुलपति भूपाल राईले एक समारोहबिच झापाको कन्काइ माध्यमिक विद्यालय सुरुङ्गामा पानसमा बत्ती बालेर उदघाटन गर्नुभएको थियोे ।

साथै, शैक्षिक पठनपाठन, पाठ्‌‌यसामग्री र पठन संस्कृतिसँग नेपाल प्रज्ञा-प्रतिष्ठनलाई जोड्‌ने उद्देश्यले कन्काइ माध्यमिक विद्यालय सुरुङ्गाले भव्यतापूर्वक उक्त कार्यक्रम सम्पन्न गरेको थियोे । यस कार्यक्रममा नगरपालिकाका प्रमुख, ,शिक्षक, अभिभावक र विद्यार्थीले समेत कुलपति राईलाई प्रज्ञा-प्रतिष्ठानको महत्त्व र भूमिकाबारे प्रश्न सोधेर संवादमा भाग लिएका थिए । कुलपति राईले नियुक्ति हुनासाथ पाठ्‌यक्रम निर्माणका क्रममा नेपाल प्रज्ञा- प्रतिष्ठानको संलग्नता हुन जरूरी रहेको बताउनुभएको थियो । यसैगरी पाठ्‌‌यक्रम निर्माण गर्ने कार्य प्राज्ञिककर्म भएकाले प्रज्ञा- प्रतिष्ठान त्यस कार्यमा अनिवार्य जोडिनु पर्छ भन्ने उहाँको धारणा अनुरूप पहिलोचोटि झापाको सुरुङ्गामा ‘विद्यालयमा कुलपति’ भन्ने कार्यक्रम सञ्चालन गरिएको थियोे ।

यसै क्रममा अर्को शृङ्खलास्वरूप मनमाया स्मृति प्रतिष्ठानद्वारा ‘कुलपति साँझ’ को कार्यक्रम आयोजना गरिएको थियो । उहाँका कविताहरू विभिन्न स्थानीय कविले वाचन गरेका थिए भने स्थानीय सङ्गीतकारहरूले उहाँकै गीतका धूनहरू बजाएर कार्यक्रम सम्पन्न गरेका थिए । उक्त कार्यक्रम कुलपति राईकै एकल कवितावाचनसहित सुरु भएको ‘सांस्कृतिक सत्ता र समताको लागि’ भन्ने उद्घोष अन्तर्गतको पछिल्लो शृङ्खला थियोे । यसैगरी कमल गाउँपालिका स्थित फिनिक्स इङ्गलिस स्कुलले पनि विद्यार्थीसँग कुलपति’ कार्यक्रम सञ्चालन गरेका थिए ।

कार्यक्रममा स्कुलका विद्यार्थीहरूले कुलपति राईकै गीत. गाएर, साहित्य र कलासम्बन्धी प्रश्न गरेर कुलपति राईसँग घनिभूत छलफल र संवाद गरेका थिए ।यी तिनवटै कार्यक्रममा नेपाल प्रज्ञा-प्रतिष्ठानका प्राज्ञसभा सदस्य मुनाराज शेर्मा र सुमित्रा वाङ्देल चेली तथा प्राज्ञ प्रतिष्ठान साहित्य (मातृभाषा) विभागका सदस्य विराट किराती लगायतको उपस्थिति थियोे ।

प्रतिक्रिया दिनुहोस्