लघुवित्तसम्बन्धी रास्वपाले बुझाएको प्रतिवेदनमा आफै सक्रिय छुः प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, १ फाल्गुण । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लघुवित्तीय समस्याको समाधानका लागि सबैभन्दा बढी आफू गम्भीर र सक्रिय रहेको बताएका छन्।

मंगलबार राष्ट्रिय स्वतन्त्र पार्टीले बुझाएको लघुवित्तीय संस्थाको संकट र समाधानका उपाय समेटिएको प्रतिवेदन बुझ्दै प्रधानमन्त्री प्रचण्डले यसको समाधानका लागि आफू सक्रिय रहेको बताएका हुन्।

यो मामिलामा म सबैभन्दा बढी गम्भीर भएर लागेको छु। लाखौं बचतकर्ताहरू ठगिएका छन्, उनीहरूलाई हरहालतमा न्याय दिनुपर्छ भन्नेमा म दृढ छु,’ सभापति रवि लामिछानेसहित पुगेको रास्वपाका टोलीहरूसँग प्रतिवेदन बुझेपछि प्रधानमन्त्री प्रचण्डले भने। उनले त्यसमा रास्वपाको सुझाव पनि हेर्ने बताए।

‘तपाईहरूको सुझाव पनि म हेर्छु। यो समस्या जतिसक्दो छिटो टुंगाउन चाहन्छु, यसमा तपाईहरूको पनि सहयोग चाहियो,’ प्रधानमन्त्री प्रचण्डले भने।

रास्वपाको अर्थ तथा नीति विभागले सहकारी तथा लघुवित्तीय संस्थाको संकट र समाधानका उपायसम्बन्धी अध्ययन र प्रतिवेदन तयार पार्ने जिम्मा पाएको थियो।

विभागले माघ १५ गतेभित्र प्रतिवेदन तयार पारी सरकारलाई बुझाउने जिम्मा पाएको थियो। विभागमा सुरेशकुमार कर्ण, सुशील खड्का, भोजन अर्याल, सिर्जना केसी सदस्य छन्।

विभागले तयार पारेको प्रतिवेदन आज बिहान बालुवाटार पुगेर सभापति रवि लामिछाने, उपसभापति स्वर्णिम वाग्लेसहितको टोलीले प्रधानमन्त्रीलाई बुझाएका हुन्।

प्रतिक्रिया दिनुहोस्