बजेट र मौद्रिक नीतिको समीक्षा आजै आउने

काठमाडौं, २९ माघ । अर्थमन्त्रालयले बजेट र राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सोमबार गर्ने भएका छ ।

अर्थमन्त्रालयले बजेटको अर्धवार्षिक समीक्षाको लागि सोमबार पत्रकार सम्मेलन गर्न लागेको छ । मन्त्रालयले दिउसो साढे ३ बजे अर्थमन्त्रालयको सुवर्ण हलमा पत्रकार सम्मेलन गरी अर्धवार्षिक समीक्षा सार्वजनिक गर्न लागेको हो ।

यता राष्ट्र बैंकले पनि मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाको लागि आजै सञ्चालक समितिको बैठक बोलाएको छ ।

राष्ट्र बैंकले माघ महिनाभित्रै मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्ने तयारी गरिरहेको थियो । सोहि अनुसार सोमबार साँझ अर्धवार्षिक समीक्षाको एजेण्डा राखेर सञ्चालक समितिको बैठक बोलाएको छ ।
सञ्चालक समितिले पारित गरेपछि आजै मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्ने तयारी छ ।
पुससम्मको तथ्याङ्कले बाह्यक्षेत्र अझै मजबुद बनेको देखाएको छ । यसले गर्दा केन्द्रीय बैंकले दोस्रो त्रैमासिक समीक्षामा पनि केहि लचिलो नीति लिन लागेको छ ।

मौद्रिक नीतिको समीक्षामा केन्द्रीय बैंकलाई यसअघि गरेको कडाइलाई अझै खुकुलो बनाउनुपर्ने दबाब छ । आन्तरिक अर्थतन्त्रलाई पनि चलायमान बनाउनुपर्ने बाध्यता रहेकोले पनि केन्द्रीय बैंकले लचिलो नीति लिन लागेको हो ।

चालु आर्थिक वर्षदेखि नै राष्ट्र बैंकले आफ्नो नीतिलाई खुकुलो बनाउँदै लगेको छ। नीतिगत दरहरु घटाउँदै लगेको छ भने दोस्रो त्रैमासिक समीक्षामा पनि यस्तो दर थप घटाउने तयारी गरेको छ। यसले गर्दा बैंकहरुको ब्याजदर अझै घट्ने छ।

प्रतिक्रिया दिनुहोस्