आहारारा पोखरा गोल्डकप आज विभागीय टोली त्रिभुवन आर्मी र थ्रीस्टार क्लब भिड्दै

काठमाडौ.२० माघ। पोखरामा जारी आहारारा पोखरा गोल्डकपको २३औं संस्करणको उपाधिका लागि आज विभागीय टोली त्रिभुवन आर्मी र थ्रीस्टार क्लब भिड्दैछन् । खेल दिउँसो २ बजे पोखरा रंगशालामा हुनेछ ।

थ्रीस्टार क्लब सेमिफाइनलमा जावलाखेल युथ क्लबलाई १(०र विभागीय टिम नेपाल आर्मी सेमिफाइनलमा चर्च ब्वाइजलाई २(१ ले पराजित गरेर उपाधि दौडमा सामेल भएका हुन् ।

आहारारामा यसअघि अन्तिमपटक दुवै टिम २०७५ सालमा सँगै भिडेका थिए । उक्त खेलमा आर्मीलाई ट्राइबे्रकरमा ५(४ ले स्तब्ध पार्दै थ्रीस्टारले उपाधि चुमेको थियो । त्यतिबेला निर्धारित खेल २(२ को बराबरीमा टुंगिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो ।

संयोगवश, त्यसयता दुवै टिम आहाराराको फाइनलसम्म पुग्न सकेका थिएनन् ।

 

आहारारामा इतिहासमा थ्रीस्टार क्लबभन्दा त्रिभुवन आर्मी अनुभवी टिम मानिन्छ । तर, हालसम्म उपाधि जित्न सकेको छैन । तर, थ्रीस्टार भने कम सहभागितामै बढी उपाधि जित्ने भाग्यमानी टिममध्ये पर्छ ।

थ्रीस्टार ६ पटक सहभागी हुँदा ५ पटक आहाराराको उपाधि जितिसकेको छ । नेपाल आर्मीको यो १५ औं सहभागिता हो । यसअघि ४ पटक फाइनल पुगेर पनि उपविजेतामै सीमित हुँदै घर फर्किनुपयो ।

आर्मी यसअघि २०६५, २०६६, २०७२ र २०७५ मा फाइनलमा पुगेर उपविजेता बनेको छ भने थ्रीस्टार यसअघि २०६३, २०६७, २०६९, २०७१, २०७४ र २०७५ मा फाइनलमा पुगेकोमा २०७४ मा बाहेक सबै फाइनलमा विजयी भएको छ ।

यसपटकको उपाधि जिते दुवैलाई आफ्नो इतिहास बनाउने अवसर छ । नेपाल आर्मी आफ्नो हारको श्रृंखला ब्रेक गर्न चाहन्छ भने थ्रीस्टार आहाराराको सर्वाधिक विजेता टोलीमा आफूलाई सामेल बनाउन चाहन्छ ।

आहारारामा मनाङमर्स्याङ्दी र नेपाल पुलिस क्लबल सर्वाधिक ६, ६ पटकका उपाधि विजेता हुन् । अब थ्रीस्टार पनि उक्त सफलताबाट केवल जितमात्रै टाढा छ ।

नेपाका ए डिभिजन क्लबका १४ टिममध्ये हालसम्म ९ वटा टिमको प्रशिक्षकको भूमिका निभाइसकेका अनुभवी प्रशिक्षक मेघराज केसी अहिले त्रिभुवन आर्मीको प्रशिक्षक छन् । यसपटक राम्रो अभ्याससहित मैदान उत्रिएकाले हारको भन्दा पनि जितको इतिहास बनाउन आएको बताउँछन् ।

‘हामी पहिलाको इतिहास दोहो¥याउन भन्दा यसपालि आहारारा जितेर नयाँ इतिहास रच्नको लागि आएको हौं, जित्नको लागि हामी सक्षम पनि छौं, पहिलोपटक जित्ने छौं’, शुक्रबार आयोजित प्रिम्याच कन्फ्रेन्समा प्रशिक्षक मेघराजले भनेका थिए ।

यो प्रतियोगिता गुरुचेलाबीचको प्रतिस्पर्धा पनि हो । लामो समय मेघराजकै प्रशिक्षणमा फुटबल खेलेका विक्रम लामा यतिबेला थ्रीस्टारको प्रशिक्षण भूमिका छन् । प्रशिक्षण सम्हालेको पहिलो प्रतियोगितामै टिमलाई फाइनल त पुर्‍याए । तर, अब उनले आफ्नै गुरुविरुद्ध उत्रिनु पर्ने भएको छ ।

थ्रीस्टारका प्रशिक्षक विक्रम लामा यो संयोगलाई आफ्नो ‘सौभाग्य’ ठानेका छन् । व्यवसायिक खेल जीवनमा प्रशिक्षक केसीबाट सिकेका कुराहरु नै आफूले पनि प्रयोग गर्ने प्रयास गरिरहेको सुनाए । ‘मेरो लागि सुवर्ण अवसर पनि हो यो, गुरुले बुझ्ने गरेर सिकाएकोले ती कुरालाई प्रयोग गरेर खेलाउने कोशिस गर्नेछु’, उनले भने ।

प्रतिक्रिया दिनुहोस्