आहारारा पोखरा गोल्डकपको फाइनलमा त्रिभुवन आर्मी र चर्चब्वाइज युनाइटेडबीच प्रतिस्पर्धा हुँदै

काठमाडौं, १८ माघ । पोखरामा जारी आहारारा पोखरा गोल्डकपको फाइनल प्रवेशका लागि विभागीय टोली त्रिभुवन आर्मी र चर्चब्वाइज युनाइटेडबीच प्रतिस्पर्धा हुँदैछ । पोखरा रंगशालामा दिउँसो साढे २ बजेदेखि खेल सुरु हुनेछ ।

आजको खेल जित्ने टिमले शनिबार हुने २३औं आहारारा पोखरा गोल्डकपको उपाधि भिडन्तमा सामेल हुनेछ । यसअघि नै जावलाखेललाई १–० ले हराउँदै थ्रीस्टार क्लब फाइनल प्रवेश गरिसकेको छ ।

आहारारामा त्रिभुवन आर्मी र चर्च ब्वाइज पहिलो पटक भिड्न लागेका हुन् । अघिल्लो संस्करणदेखि सहभागी हुन लागेको चर्चब्वाइज पहिलो संस्करणमै सेमिफाइनलसम्म पुगेको थियो । तर, सेमिफाइनलमा अमेरिकन टिम बीवाईएससीसँग १–० ले पराजित हुँदा उपाधि नजिक पुगेर पनि बाहिरिनुपर्‍यो ।

चर्चब्वाइज बाइ पाउँदै सीधै क्वार्टरफाइनल प्रवेश गरेको थियो । क्वार्टरफाइनलमा आहाराराकै सर्वाधिक सफल टोली नेपाल पुलिस क्लबलाई पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का बनाएको हो ।

आहाराराको पुरानो र अनुभवी त्रिभुवन आर्मी क्लब हालसम्म उपाधिविहीन छ । पटकपटक फाइनल पुगेर पनि हार व्यहोर्दा हालसम्म उपाधि जित्न सकेको छैन । आहारारा पोखरा गोल्डकपमा यो विभागीय टिम आर्मीको १५ सहभागिता हो ।

पहिलो पटक ०६० सालमा भाग लिएको आर्मी सेमिफाइनलसम्म पुगेको थियो । त्यसयता ४ पटक फाइनल पुगिसकेको छ । तर, उपाधि जित्न सकेको छैन ।

आर्मी पहिलो पटक २०६५ मा फाइनल पुगेको थियो । त्यतिबेला नेपाल पुलिससँग ५–० ले पराजित भयो । ०६६ मा पनि फाइनल पुगेको आर्मीलाई पुलिसले नै १–० ले पराजित गर्‍यो ।

०७२ सालको फाइनलमा भने आर्मीलाई मनाङ मर्स्याङ्दीले १–० ले हरायो । ०७५ मा भने आर्मीले ट्राइब्रेकरमा थ्रीस्टारसँग ५–२ ले हार बेहोरेको थियो ।

आर्मीले भरत खवासको कप्तानीमा खेलाडीहरु मैदान उतारेको छ । आर्मीको टिममा राष्ट्रिय टिमबाट खेलेको जिलेप्सीजंग कार्की, दिनेश हेन्जङ, विमल पाण्डे, विकेश कुथुलगायत छन् ।

चर्चब्वाइजको कप्तानी अनन्त तामाङले सम्हालिरहेका छन् । टिममा राष्ट्रिय टिमबाटै खेलिसकेका कमल श्रेष्ठ, नेपाल सुपर लिग ९एनएसल०मा उत्कृष्ट प्रदर्शन गरेका रोहन कार्की, सन्तोष खत्री, सञ्जित राई, राजीव लोप्चन, कृपाकान्त चौधरी, समीर तामाङलगायत खेलाडी छन् ।

प्रतिक्रिया दिनुहोस्