अब ठुला आयोजनामा सामाजिक सुरक्षा कोषले लगानी गर्ने
काठमाडौँ, १६ माघ। अब ठुला आयोजनाहरूमा सामाजिक सुरक्षा कोषले लगानी गर्ने भएको छ । अर्बौँ रुपैयाँ लगानी योग्य रकम रहेको कोषले जलविद्युत क्षेत्र लगायतका ठुला आयोजनामा लगानी गर्ने भएको हो । त्यसका लागि कोषले हाइड्रो इलेक्ट्रिीसिटी इन्भेस्टमेन्ट एन्ड डेभलेपमेन्ट एन्ड कम्पनी लिमिटेड (एचआईडीसीएल) सँग लगानी सहकार्यको सम्झौता गरेको छ ।
आज उर्जा जलस्रोत तथा सिँचार्य मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देलको उपस्थितिमा कोषको तर्फबाट कार्यकारी निर्देशक कविराज अधिकारी र एचआईडीसीएलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अर्जुन प्रसाद गौतमले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
सम्झौतामा दुवै पक्ष आ–आफ्नो प्रचलित नीति, नियमत तथा निर्णयको अधीनमा रही जलविद्युत तथा अन्य नवीकरणीय ऊर्जाको विकास, प्रसारण तथा वितरणसँग सम्बन्धित आयोजनाहरूमा सहवित्तीयकरणमा सहभागी भई ऋण लगानी गर्ने र अन्य साझेदारी गर्ने लगायतका विषय उल्लेख गरिएको छ ।
कोषमा रहेको रकम निरन्तर बढिरहेको अवस्थामा लगानी योग्य रकम थुप्रिएर बसेको थियो । सम्झौतासँगै अब लगानी गर्ने बाटो खुलेको हो । ऐनले तोकिदिएको क्षेत्रमा सुरक्षित एवम् दिगो प्रतिफलयुक्त तरिकाले कोषले लगानी गर्नेछ । उक्त रकम लगानी गरेर योगदानकर्तालाई दिगो प्रतिफल दिन तथा राष्ट्रिय प्राथमिकताका क्षेत्रमा लगानी गरी आर्थिक विकासमा टेवा पु¥याउने उद्देश्यले सम्झौता गरिएको कोषले जनाएको छ ।
नेपाल सरकारको स्वामित्व र नियन्त्रणमा रहेको एचआईडीसीएल, आन्तरिक तथा बाह्य क्षेत्रबाट वित्तीय स्रोत परिचालन गरी जलविद्युत तथा अन्य नवीकरणीय ऊर्जाको विकास, प्रसारण, वितरण तथा व्यापारसँग सम्बन्धित आयोजनाहरूमा ऋण तथा स्वपुँजी लगानी गर्दै आएको छ ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत गौतमले कोषको पुँजी र कम्पनीको विशिष्टज्ञानको फ्युजनमार्फत ऊर्जा क्षेत्रमा सिनर्जी प्रभाव सिर्जना हुने बताए ।
प्रतिक्रिया दिनुहोस्