प्रधानमन्त्रीको तलब ३० वर्षमा १० गुणा वृद्धि

काठमाडौं, १० माघ । देशका प्रधानमन्त्री र मन्त्रीहरूले मासिक पारिश्रमिक र अन्य सुविधा प्राप्त गर्छन् । प्रधानमन्त्री पुष्पकमल दाहालको मासिक तलब ९४ हजार २ सय ८० रुपैयाँ छ । त्यसबाहेक मासिक ३ सय लिटर पेट्रोल, राज्यमन्त्रीस्तरको सल्लाहकारदेखि कार्यालय सहायकसम्म गरी ३४ जना कर्मचारीको सुविधा छ । यसका अतिरिक्त दैनिक भ्रमण भत्ता र सुरक्षा व्यवस्था पनि हुन्छ । प्रधानमन्त्रीले दैनिक भ्रमण भत्ता ३ हजार हो, जुन राजधानी बाहिर गएको दिन पाउने व्यवस्था छ ।

प्रधानमन्त्रीले पाउने उक्त पारिश्रमिक र सेवा सुविधा नेपाल सरकार अर्थ मन्त्रालय बजेट महाशाखाबाट २०७७ साल माघ २२ गते स्वीकृत भएको हो । ३० वर्ष अघि र अहिलेका प्रधानमन्त्री र मन्त्रीहरूको मासिक पारिश्रमिक र सुविधा १० गुणाले बढेको छ ।

प्रधानमन्त्री र मन्त्रीहरूले लिने पारिश्रमिक र सुविधा सम्बन्धी व्यवस्था गर्न बनेको ऐन २०४९ ले प्रधानमन्त्री, मन्त्री, राज्यमन्त्री र सहायक मन्त्रीको पारिश्रमिक र सुविधासम्बन्धी कानुनी व्यवस्था गरेको थियो । त्यसयताका सरकारहरूले उक्त ऐन संशोधन गर्दै २०८० साल अर्थात् हालसम्म आइपुग्दा प्रधानमन्त्री र मन्त्रीहरूको पारिश्रमिक १० गुणाले वृद्धि गरेको पाइएको छ ।

२०५० सालमा प्रधानमन्त्रीको मासिक पारिश्रमिक ९ हजार, उपप्रधानमन्त्रीको ७ हजार ५ सय, मन्त्रीको ७ हजार र राज्यमन्त्रीको ६ हजार ७ सय तोकिएको थियो । त्यसबाहेक अन्य सेवा सुविधा पनि सोही अनुपातमा तोकिएको थियो । तर अहिले प्रधानमन्त्री र मन्त्रीहरूको पारिश्रमिक लगायत अन्य सेवा सुविधा समयानुकूल वृद्धि गर्दा उनीहरूको पारिश्रमिक पनि बढ्न पुगेको हो ।

कार्य सञ्चालन निर्देशिका २०७७ आठौँ संस्करणमा प्रधानमन्त्रीदेखि मन्त्रीहरूको पारिश्रमिकको व्यवस्था प्रकाशित छ । जसमा उपप्रधानमन्त्रीहरूको मासिक पारिश्रमिक मसलन्द,महँगी भत्ता र सञ्चारसमेत जोड्दा मासिक ८४ हजार ६४० हुन आउँछ । त्यसबाहेक उपप्रधानमन्त्रीले मासिक ३०६ लिटर पेट्रोल, सहसचिव सो सरहका एकजना सह स्वकीय सचिवदेखि कार्यालय सहायकसम्म गरी आठ जना कर्मचारीको पारिश्रमिक पनि सरकारले नै बेहोर्ने व्यवस्था छ । त्यसैगरी मन्त्रीहरूको हकमा पनि यही क्रममा मासिक पारिश्रमिक वृद्धि भएको छ । हाल दुई जना उपप्रधानमन्त्री छन् ।

हालको व्यवस्थाअनुसार मन्त्रीहरूको मासिक पारिश्रमिक मसलन्द तथा अतिथि सत्कार ३५००,महँगी भत्ता २०००,सञ्चार सुविधा ३००० गरी जम्मा ७९२३० पाउँछन् । त्यसमा मासिक २०७ लिटर पेट्रोल र ७ जना कर्मचारी उनीहरूको सुविधाका लागि सरकारले उपलब्ध गराउँछ । हाल संघ सरकारमा १९ जना मन्त्री छन् । २०५० सालमा मन्त्रीहरूले अन्य सेवा सुविधाबाहेक ७ हजार मासिक पारिश्रमिक पाउने व्यवस्था थियो ।

पूर्व मुख्यसचिव डा. विमल कोइराला हाल प्रधानमन्त्री र मन्त्रीहरूले पाउने पारिश्रमिक अन्य देशको तुलनामा कमै रहेको बताउँछन् ।
त्यसैगरी राज्यमन्त्रीहरुको पनि पारिश्रमिक विगतको तुलनामा १० गुनाकै दरले बढेको देखिन्छ । ३० वर्षअघि राज्यमन्त्रीको मासिक पारिश्रमिक ६ हजार ७ सय रहेकोमा हाल ७५ हजार भन्दा बढी मासिक पारिश्रमिक पाउँछन् । राज्यमन्त्रीले हाल मासिक ६७ हजार ०३० रुपैयाँ पारिश्रमिक पाउँदा मसलन्द ३,०००, महँगी भत्ता २०००, सञ्चार सुविधा ३००० गरी जम्मा जम्मा ७५ हजार ३० पुगेको हो । त्यसबाहेक राज्यमन्त्रीहरूले मासिक २०० लि पेट्रोल, मोबिल (४० लि. वार्षिक) र ७ जना कर्मचारी पाउँछन् ।

हाल मुलुकमा सहायक मन्त्री नभए पनि उनीहरूको हकमा पनि पारिश्रमिकको व्यवस्था गरिएको छ । सहायकमन्त्रीका लागि मासिक पारिश्रमिक ६५ हजार ५३०, मसलन्द २५००,महँगी भत्ता २०००, सञ्चार सुविधाबापत ३००० पाउने व्यवस्था छ यो सबै जोड्दा उनीहरूको मासिक ७३ हजार ०३० हुन आउँछ । त्यसमा मासिक १८० लिटर पेट्रोल, (मोबिल २० लि. वार्षिक) र ७ जना कर्मचारीको व्यवस्था पनि रहेको छ । अर्थ मन्त्रालयका प्रवक्ता एवम् सहसचिव धनीराम शर्माका अनुसार प्रधानमन्त्री तथा मन्त्रीहरूको पारिश्रमिक र सेवा सुविधा २०७६ साल साउन १ गतेबाट लागु भएको हो । जसमा नियमअनुसार कर कट्टी गरेर उनीहरूको खातामा जम्मा हुँदै आएको छ ।

पूर्व मुख्यसचिव डा. विमल कोइराला हाल प्रधानमन्त्री र मन्त्रीहरूले पाउने पारिश्रमिक अन्य देशको तुलनामा कमै रहेको बताउँछन् । ‘अन्य देशको तुलनामा हालको यो पारिश्रमिक कम हो,’ उनले भने, तर बढाउने नबढाउने भन्ने कुरा सरकारको निर्णयमा भर पर्छ ।’

उनले देशको आर्थिक अवस्था लगायतलाई ध्यानमा राखेर सरकारले पारिश्रमिक र सेवा सुविधाबारे पुनरावलोकन गर्न सक्ने बताए । अहिलेको अवस्थामा देशको आर्थिक अवस्था पनि हेर्नुपर्ने हुन्छ त्यो हेरेर निर्णय गर्ने अधिकार सरकारको हो, उनले भने ।

कसको कति पारिश्रमिक ?
१.प्रधानमन्त्री
मासिक पारिश्रमिक ७७२८०
मसलन्द १०,०००
महँगी भत्ता २०००
सञ्चार सुविधा ५०००
जम्मा ९४२८०
३०६ लि पेट्रोल, मोबिल (४० लि. वार्षिक)
स्वकीय सचिवदेखि कार्यालय सहायकसम्म ३४ जना कर्मचारी

२.उपप्रधानमन्त्री
मासिक पारिश्रमिक ७५,६४०
मसलन्द ४,०००
महँगी भत्ता २०००
सञ्चार सुविधा ३०००
जम्मा ८४६४०
३०६ लि पेट्रोल, मोबिल (४० लि. वार्षिक)
कर्मचारी आठजना

३.मन्त्री
मासिक पारिश्रमिक ७०,७३०
मसलन्द तथा अतिथि सत्कार ३५००
महँगी भत्ता २०००
सञ्चार सुविधा ३०००
जम्मा ७९२३०
२०७ लि पेट्रोल,
कर्मचारी ७ जना

४.राज्यमन्त्री
मासिक पारिश्रमिक ६७०३०
मसलन्द ३,०००
महँगी भत्ता २०००
सञ्चार सुविधा ३०००
जम्मा ७५०३०
२०० लि पेट्रोल, मोबिल (४० लि. वार्षिक)
कर्मचारी ७ जना

५.सहायकमन्त्री
मासिक पारिश्रमिक ६५५३०
मसलन्द २५००
महँगी भत्ता २०००
सञ्चार सुविधा ३०००
जम्मा ७३०३०
१८० लि पेट्रोल, (मोबिल २० लि. वार्षिकं
कर्मचारी ७ जना

योबाहेक प्रधानमन्त्री र मन्त्रीहरूलाई आवासको व्यवस्था पनि सरकारले गरेको छ । हाल प्रधानमन्त्रीलाई बालुवाटार र मन्त्रीहरूलाई पुल्चोकमा आवास सुविधा प्रदान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्