नेपाल कसैको रणमैदान होइन, आवधिक निर्वाचनले मात्र प्रजातन्त्र हुँदैन: ज्ञानेन्द्र शाह
काठमाडौं, २६ पुस। पूर्वराजा ज्ञानेन्द्र शाहले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा भिडियो सन्देश जारी गर्दै नेपाल कसैको रणमैदान नभएको उल्लेख गरेका छन् । त्यस्तै आवधिक निर्वाचनले मात्र प्रजातन्त्र नहुने बताउनुभयो ।
भिडियो सन्देशमार्फत जारी वक्तव्यमा उनले नेपालमा यति बेला सुनको कमण्डलु थापेर अरूसँग भिख माग्दै सीपको दुरुपयोग गर्ने काम भइरहेको उल्लेख गरेका छन् । ‘ समृद्धिको बाटो, अवलम्बन गर्नुपर्ने चनाखो वैदेशिक दृष्टिबारे राष्ट्रनिर्माताले स्पष्ट निर्देशन गरेको बाटोतर्फ हिँड्नुपर्छ,’ वक्तव्यमा भनिएको छ, ‘नेपाल कसैको रणमैदान होइन, शान्तिथलो बनाऊँ । साझा घर नेपाल, साझा थर नेपाली भन्ने विचार राख्दा नै राष्ट्रनिर्माताको आकांक्षा पूरा हुन्छ भन्ने हाम्रो धारणा हो ।’
नेपालीहरूले आफ्नो क्षमता चिन्न नसकेको पूर्वराजा शाहको भनाइ छ । पृथ्वीनारायणले दिव्योपदेशमा बताएका विषय लागू गर्नुपर्नेमा उनले जोड दिएका छन् । ‘राष्ट्रनिर्माता’का मार्गदर्शनलाई आत्मसात् गर्न सके नेपाललाई कसैले केही गर्न नसक्ने उनको दाबी छ ।
पूर्वराजा शाहले विदेशी भूमिका नीति र दर्शन नेपालीलाई नचाहिने पनि बताएका छन् । ‘हामीमध्ये कतिपय दाजुभाइ दिदीबहिनी विदेशी भूमिका निर्मित वादमा किन भर परेका हुन् भन्ने प्रश्न गर्नुपर्ने बेला आएको छ,’ उनले भनेका छन् ।
दिव्योउपदेशबाट नेपाललाई तीन शताब्दीअघि नै राष्ट्रवाद र आर्थिक सम्बृद्धिका धारणा प्राप्त भए पनि पछिल्लो समय नेपालीहरू विदेशीबाट सिर्जित वादमा गइरहेको भन्दै यसको समीक्षा गर्नुपर्ने बेला आएको उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्