धिरज र उपासनालाई लिएर चलचित्र ‘खुस्मा’ बन्ने

काठमाडौं,१ माघ । अभिनेता धिरज मगर र अभिनेत्री उपासना सिंह ठकुरी पहिलोपटक चलचित्रमा एकसाथ देखिने भएका छन् । अशोक थापा मगरको निर्देशनमा बन्न लागेको चलचित्र ‘खुस्मा’ मा उनीहरुको जोडी देखिन लागेको हो ।

माघे संक्रान्तिको अवसरमा सोमबार कमलादीस्थित गणेश मन्दिरमा चलचित्रको शुभमुहूर्त गरिएको छ । दुई चरणमा छायांकन हुने यस चलचित्र द्वन्द्वकालीन प्रेमकथामा आधारित भएर बन्नेछ ।

यस चलचित्रको निर्मातामा बेताने मगर, चन्द्र भट्टचन र सुस्मिता बुढाथोकी छन् भने एसडी योगी, सुरेन्द्र राना तथा राम अविरल विष्टको गीतमा संगीत रहनेछ । दीपक बज्राचार्यले छायांकनको जिम्मेवारी पाएको फिल्ममा अस्तित्व भट्टचन, खड्क बहादुर पुन र अरुण मगरको पनि अभिनय रहनेछ । एम मिडियाको ब्यानरमा निर्माण हुने यस चलचित्रलाई काफिया फिल्मस्ले देशभर वितरण गर्नेछ ।

धिरजले चलचित्रमा आफ्नो गाउँको क्यारेक्टर रहेको बताएका छन् । ‘मलाई हरेक फिल्ममा दर्शकले फरक लुक्समै देखिरहनुभएको छ । यसमा पनि त्यो देखिनेछ,’ उनले बताए । फरक तरिकाले लभस्टोरी कथा आउनेछ, गाउँमा हुँदाको ‘इनोसेन्ट लभ’लाई चलचित्रमा देखाइनेछ । म फिल्मलाई लिएर उत्साहित छु ।’

उपासना भने स्क्रिप्ट सुन्नसाथ फिल्ममा काम गर्नुपर्छ भन्ने निर्णयमा पुगेको बताउँछिन् । ‘स्क्रिप्ट सुनेपछि नै मलाई यो फिल्म गर्नैपर्छ भन्ने लागेको थियो । फिल्ममा गाउँको मीठो प्रेम कथा छ,’ उनले भनिन् । धिरजसँग काम गर्ने इच्छा पूरा भएकोमा पनि उनले खुसी व्यक्त गरिन् । चलचित्रको छायाँकन यही माघ ५ गतेदेखि रुकुमको मैकोट, बागलुङको ढोरपाटन, पोखरा र काठमाडौं आदि ठाँउहरुमा गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्