सेयर बजारमा बुधबार ७ अर्ब ९५ लाख कारोबार, एक वर्षयताकै उच्च
काठमाडौ, ४ पुस। सेयर बजारमा एक वर्षयताकै उच्च कारोबार भएको छ। सेयर बजारमा बुधबार ७ अर्ब ९५ लाख रुपैयाँको सेयर किनबेच भएको छ। यो कारोबार रकम गत पुस २६ यताकै उच्च हो।
मौद्रिक नीतिको समीक्षापछि बजारमा लगानीकर्ताको सक्रियता बढेको छ। सेयर कर्जामा जोखिम भार कटौती र नीतिगत दर घटाइएपछि बढ्न थालेको बजारलाई पुस लागेपछि घटेको कर्जाको ब्याजले थप चलायमान बनाएको हो।
नेप्से परिसूचक ३५।३९ अंकले बढेर २१४१।८७ बिन्दुमा पुगेको छ। सेन्सेटिभ इन्डेक्समा ४।९३ अंकको सुधार भएको छ।
१३ उपसमूहमध्ये उत्पादन तथा प्रशोधन क्षेत्र ७।१५ प्रतिशतले बढेको छ। बोटलर्स नेपाल बालाजु, हिमालयन डिस्टिलरी लगायत १५ कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ।
लगानी र व्यापार क्षेत्रका कम्पनीको सेयर मूल्यमा उछाल आएको छ। लगानी उपसमूहको सूचक ६।९२ र व्यापार उपसमूहको सूचक ६।२० प्रतिशतले बढेको छ।
केही दिनयता निरन्तर बढिरहेको होटल उपसमूहको सूचक भने १।८९ प्रतिशतले घटेको छ। यो उपसमूहमा पर्ने तारागाउँ रिजेन्सी होटलको सेयर प्रति कित्ता ३२ रुपैयाँ र चन्द्रागिरी हिल्सको ३० रुपैयाँले घटेको छ।
कारोबार रकमका आधारमा शिवम् सिमेन्ट शिर्ष स्थानमा छ। यो कम्पनीको ३७ करोड ३४ लाख रुपैयाँको सेयर किनबेच भएको छ। लाभांश सुरक्षित गर्ने अन्तिम दिन सोल्टी होटलको २४ करोड ५३ लाख रुपैयाँको सेयर कारोबार भएको छ।
प्रतिक्रिया दिनुहोस्