मुख्य सचिवमा लोकदर्शन रेग्मी नियुक्त

काठमाडौं । सरकारले मुख्य सचिवमा गृह मन्त्रालयका सचिव लोकदर्शन रेग्मीलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले गृह सचिव रेग्मीलाई मुख्य सचिवमा नियूक्ती गरेको हो ।
मुख्य सचिव राजेन्द्रकिशोर क्षेत्रीले उमेर हदका कारण मंगलबार अनिवार्य अवकाश भएपछि सचिव रेग्मीलाई मूख्य सचिवमा बढुवा गरिएको हो ।
बैठकले शंकरप्रसाद अधिकारीलाई अर्थ मन्त्रालयको सचिवमा पदस्थापन गर्ने निर्णय गरेको सरकारको प्रवक्ता मोहनबहादुर बस्नेतले जानकारी दिए ।

यसैगरी बैठकले इन्द्रप्रसाद उपाध्याय लोक सेवा आयोग, मधुप्रसाद रेग्मी शिक्षा, मोहन कृष्ण सापकोटा गृह, रेश्मीराज पाण्डे सामान्य प्रशासन, युवकध्वज जिसी वन र प्रकाश माथेमालाई पशुपक्षी मन्त्रालयको सचिवमा पदस्थापन गरेको छ ।

त्यसैगरी विष्णु ओम बाँडेलाई सह–सचिवबाट सचिवमा बढुवा गरिएको छ भने शिक्षा सचिव शेषनाथ अधिकारी र भूकम्प पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा गोविन्द पोखरेलको राजीनामा बैठकले स्वीकृत गरिएको छ ।

बैठकले भूकम्प पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृतमा पूर्व अर्थसचिव युवराज भुसाललाई तत्कालका लागि जिम्मेवारी दिएको छ । बैठकले सिन्धुपाल्चोक जिल्ला मेलम्ची नगरपालिकस्थित भूकम्पपीडितका लागि ‘गिरानचौर एकीकृत नमूना’ बस्तीमा घर निर्माण गरी हस्तान्तरण गर्दा लिखित पारितमा लाग्ने रजिस्टर दस्तुर छुट दिने व्यवस्था पनि स्वीकृत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्