हिमालयन रि इन्स्योरेन्सले आईपीओमा आवेदन दिने समय थप्यो
काठमाडौं १, पौष । हिमालयन रि इन्स्योरेन्स लिमिटेडले मंसिर २७ गतेदेखि सर्वसाधारणका लागि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने समय थप गरेको छ । अब कम्पनीको आईपीओ निष्काशन ढिलोमा पुस ११ गते बन्द हुनेछ ।
कम्पनीले दश अर्ब रुपैयाँ जारी पूँजीको ३० प्रतिशतले हुन आउने तीन अर्ब रुपैयाँ बराबरको तीन करोड कित्ता शेयर जारी गर्ने अनुमति पाएको थियो । कम्पनीले प्रतिशेयर अंकित १०० रुपैयाँमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रति कित्ता २०६ रुपैयाँका दरले हुन आउने ६ अर्ब १८ करोड रुपैयाँको शेयर निष्काशनमा ल्याएको हो ।
सो मध्येमा २ प्रतिशत अर्थात ६ लाख कित्ता कम्पनीमा कार्यरत कर्मचारीलाई सुरक्षित गरिएको छ भने वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि ३ करोड कित्ता शेयर निष्काशन गरि बाँडफाँट गरिसकेको छ। त्यसैगरी, कम्पनीले सामूहिक लगानी कोषका लागि १५ लाख कित्ता शेयर बाँडफाँड पनि बाँडफाँट गरिसकेको छ ।
दोस्रो चरणमा, बाँकी रहेको २ करोड ४९ लाख कित्ता शेयर सर्वसाधारणका लागि निष्काशनमा ल्याएको हो ।
कम्पनीको आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा ३ लाख कित्तासम्मका लागि आवेदन दिन सकिनेछ।
आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपी इस्यूअर रेटिङ्ग ए प्रदान गरेको छ। यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमता पर्याप्त रुपमा सुरक्षित रहेको संकेत गर्दछ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ । कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि–आस्बा प्राणालीमार्फत आवेदन दिन सक्नेछन् ।
प्रतिक्रिया दिनुहोस्