एसीसी–१९ एसिया कपमा भारतसँग नेपालको हार

काठमाडौं, २६ मंसिर । मंगलबार एसीसी यू–१९ एसिया कप एकदिवसीय क्रिकेट प्रतियोगितामा भारतले नेपाललाई १० विकेटको फराकिलो अन्तरले हराएको छ । यूएईको दुबईस्थित आईसीसी एकेडेमीको मैदानमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको नेपालले २२।१ ओभरमा अलआउट हुनुअघि ५२ रनमात्र बनाउन सकेको थियो ।

जवाफी ब्याटिङमा ओर्लिएको भारतले ७.१ ओभरमा कुनै पनि विकेट नगुमाई जित हासिल गरेको थियो । भारतका लागि ओपनर ब्याट्सम्यान आदर्श सिंहले अविजित १३ र आर्सिन कुलकणर्ीले अविजित ४३ रनको योगदान गरे ।

जारी एसियाकपको समूह ‘ए’ मा रहेको नेपालले आफ्नो तीनवटै खेलमा हार ब्यहोर्‍यो । पहिलो खेलमा पाकिस्तानसँग सात विकेटले पराजित भएको नेपाली टोली दोस्रो खेलमा अफगानिस्तानसँग ७३ रनले हारेको थियो । नेपाली टोली समूहगत चरणबाटै बाहिरिएको छ । उक्त समूहबाट पाकिस्तान र भारत सेमिफाइनलमा पुग्ने बलियो सम्भावना छ ।

त्यसअघि यूएईको दुबईस्थित आईसीसी एकेडेमीको मैदानमा नेपालले अत्यन्तै फितलो ब्याटिङ गरेको थियो । नेपालका कुनै पनि ब्याट्सम्यान लामो समय क्रिजमा टिक्न सकेनन् । नेपालका कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

नेपालका कुनै पनि ब्याट्सम्यानले बनाएको रनभन्दा अतिरिक्त रुपमा प्राप्त रन बढी रह्यो । नेपालले अतिरिक्त रुपमा १३ रन पाएको थियो । नेपालको अन्तिम विकेटका रुपमा हेमन्त धामी १८ बलमा आठ रन बनाउँदै आउट भए । उनको विकेट राज लिम्बानीले लिए । आकाश चन्द चार रनमा अविजित रहे ।

भारतीय टोलीका बलर राज लिम्बानी एक्लैले सात विकेट लिएका थिए । उनले ९।१ ओभरमा तीन मेडन राख्दै केवल १३ रन खर्चिएका थिए । आराध्य शुक्लाले पनि दुई विकेट हात पारेका थिए । आर्सिन अतुल कुलकणर्ीले एक विकेट लिएका थिए ।

यू(१९ एकदिवसीय क्रिकेटमा हालसम्म बनेको सबैभन्दा कम योगफल भने २२ रन हो । यू–१९ विश्वकपअन्तर्गत सन् २००४ को फेब्रुअरी २२ मा खेलिएको अस्ट्रेलियाविरुद्धको खेलमा स्कटल्यान्डको टोली केवल २२ रनमा अलआउट भएको थियो । त्यो खेलमा स्कटल्यान्डका ब्याट्सम्यानहरु २२.३ ओभरमात्र क्रिजमा टिक्न सकेका थिए । त्यो खेलमा स्कटल्यान्डको रन रेट ०.९७ रहेको थियो ।

यू–१९ एकदिवसीय क्रिकेटमा कुनै पनि टोलीले सबैभन्दा कम ओभरमा जित हासिल गरेको कीर्तिमान पनि त्यही खेलमा बनेको थियो । अस्ट्रेलियाली टोलीले बंगलादेशको चटगाउँमा खेलिएको त्यो खेलमा स्कटल्यान्डले दिएको २३ रनको लक्ष्य केवल ३.५ ओभरमा कुनै पनि विकेट नगुमाई पुरा गरेको थियो ।

यसैगरी एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको इतिहासमा सबैभन्दा कम ओभरमा विजयलक्ष्य पुरा गर्ने कीर्तिमान भने श्रीलंकाको नाममा छ । श्रीलंकाले सन् २००१ को डिसेम्बर ८ तारिखमा कोलम्बोमा खेलिएको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा जिम्बाबेले दिएको ३९ रनको लक्ष्य ४।२ ओभरमा पुरा गरेको थियो । यसका अतिरिक्त सन् २००३ को फेब्रअरी १९ तारिखमा पर्लमा खेलिएको एकदिवसीय खेलमा क्यानडाले दिएको ३७ रनको लक्ष्य श्रीलंकाले ४.४ ओभरमा पुरा गरेको थियो ।

नेपालले पहिलो विकेटका रुपमा दीपक बोहरालाई गुमाएको थियो । उनी ११ बलमा एक रन बनाउँदै पेभेलियन फर्किएका थिए । उनलाई भारतका बलर राज लिम्बानीले अराभेली अवानिसद्वारा क्याच गराएका थिए । ४.१ ओभरमा उनी आउट हुँदा नेपालले नौ रन बनाएको थियो ।

नेपालको दोस्रो विकेटका रुपमा उत्तम रंगु थापामगर खाता खोल्नुअघि नै आउट भएका थिए । उनको विकेट पनि भारतीय बलर राज लिम्बानीले नै लिएका थिए । उत्तम बोल्ड भएका थिए । उनी आउट हुँदा नेपालले ६.२ ओभरमा १४ रन बनाएको थियो ।

तेस्रो विकेटका रुपमा ओपनर ब्याट्सम्यान अर्जुन कुमाल आउट भएका थिए । उनी २२ बलमा सात रन बनाउँदै पेभेलियन फर्किएका थिए । उनलाई भारतीय बलर आराध्य शुक्लाले मुसिर अहमदद्वारा क्याच गराएका थिए । अर्जुन आउट हुँदा नेपालले ७.३ ओभरमा १७ रन बनाएको थियो । त्यसमध्ये पनि सात रन अतिरिक्त रुपमा प्राप्त भएको थियो ।

यसैगरी नेपालको चौथो विकेटका रुपमा कप्तान देब खनाल पेभेलियन फर्किएका थिए । उनी १० बलमा दुई रन बनाउँदै आउट भएका थिए । उनलाई भारतीय बलर राज लिम्बानीले अराभेली अवानिसद्वारा क्याच गराएका थिए । राजले लिएको यो तेस्रो विकेट थियो । देब आउट हुँदा नेपालले ८.५ ओभरमा १७ रन बनाएको थियो ।

त्यसलगत्तै अर्को बलमा नेपाली टोलीले आफ्नो पाँचौँ विकेट गुमाएको थियो । पाँचौँ विकेटका रुपमा दीपक डुम्रे शून्य रनमै आउट भएका थिए । उनको विकेट पनि राज लिम्बानीले नै लिएका थिए । उनले दीपक डुम्रेलाई बोल्ड गरेका थिए । राजले लिएको यो चौथो विकेट थियो ।

छैटौँ विकेटका रुपमा राष्ट्रिय टोलीका सदस्यसमेत रहेका अनुभवी ब्याट्सम्यान गुल्सन झा पेभेलियन फर्किएका थिए । उनी आठ बलमा चार रन बनाउँदै आउट भएका थिए । उनलाई भारतीय बलर आराध्य शुक्लाले एलबीडब्लूको धरापमा पारेका थिए । उनी आउट हुँदा नेपालले ९।५ ओभरमा केवल २१ रन बनाएको थियो ।

नेपालको सातौँ विकेटका रुपमा दीपक बोहरा आउट भएका थिए । पेभेलियन फर्किनुअघि उनले ११ बलमा सात रन बनाएका थिए । उनलाई राज लुम्बानीले सचिन दासद्वारा क्याच गराएका थिए । उनी आउट हुँदा नेपालले १२।५ ओभरमा केवल ३२ रन बनाएको थियो । त्यसमध्ये पनि आठ रन अतिरिक्त रुपमा पाएको थियो । भारतीय बलर राजले लिएको यो पाँचौँ विकेट थियो ।

नेपालको आठौँ विकेटका रुपमा दीपेश कँडेल आउट भएका थिए । उनी १८ बलमा केवल चार रन बनाउँदै पेभेलियन फर्किएका थिए । उनलाई भारतीय बलर आर्सिन अतुल कुलकणले सचिन दासद्वारा क्याच गराएका थिए । उनी आउट हुँदा नेपालले १६.४ ओभरमा ३८ रन बनाएको थियो ।

नेपालको नवौँ विकेटका रुपमा सुवाष भण्डारी १९ बलमा केवल दुई रन बनाउँदै आउट भएका थिए । उनको विकेट भारतीय बलर राज लिम्बानीले लिएका थिए । राजले उनलाई प्रियांसु सुरेसद्वारा क्याच गराएका थिए । उनी आउट हुँदा नेपालले १८.४ ओभरमा ४४ रन बनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्