संघीय सरकारलाई ७९ अर्ब ५ करोड बजेट घाटा

काठमाडौं, २६ मंसिर । यो वर्ष पनि संघीय सरकार बजेट कार्यान्वयन घाटामा देखिएको छ । चालु आर्थिक वर्षको मङ्सिर मसान्त अर्थात् ५ महिना सकिन लाग्दा सरकारले जम्मा ३ खर्ब ५९ अर्ब २० करोड ६० लाख रुपैयाँ मात्र राजस्व उठाउन सकेको हो ।

त्यस्तै गरेर खर्चतर्फ यसै अवधिमा सरकारले ४ खर्ब ३८ अर्ब २६ करोड ३२ लाख रुपैयाँ खर्च गरिसकेको छ । यो पनि सन्तोषजनक खर्च भने होइन ।

आर्थिक वर्षको मङ्सिर २५ गतेसम्म २५ प्रतिशत बजेट खर्च गरेको सरकारले राजस्व सङ्कलनको हिसाबले ७९ अर्ब ५ करोड ७२ लाख रुपैयाँ बजेट घाटा बेहोरेको छ ।

आम्दानी (राजस्व)

सरकारले आर्थिक वर्षको मङ्सिर २५ गतेसम्ममा लक्षित राजस्वको २४.३९ प्रतिशत सफलता हासिल गरेको छ । राजस्व, गैर–राजस्व, अनुदान तथा अन्य आयस्रोतबाट कूल १४ खर्ब ७२ अर्ब ४८ करोड ४७ लाख रुपैयाँको लक्ष्य राखेकोमा हालसम्म ३ खर्ब ५९ अर्ब २० करोड ६० लाख रुपैयाँ सङ्कलन भएको हो ।

महालेखा नियन्त्रण कार्यालयका अनुसार समीक्षा अवधिमा राजस्वतर्फ ३ खर्ब ३८ अर्ब ८३ करोड ३९ लाख रुपैयाँ सङ्कलन भएको छ भने अनुदानतर्फ २ अर्ब ७५ करोड ८० लाख रुपैयाँ सङ्कलन भएको छ ।

खर्च (बजेट कार्यान्वय)

यसैगरी यता बजेट खर्चतर्फ सरकारले मङ्सिर २५ गतेसम्म २५ प्रतिशतकै उपलब्धि हासिल गरेको छ । चालु आर्थिक वर्षका लागि कूल १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख रुपैयाँ बराबरको बजेट ल्याएको सरकारले समीक्षा अवधिमा ४ खर्ब ३८ अर्ब २६ करोड ३२ लाख रुपैयाँ खर्च गर्न सकेको हो ।

जसमध्ये चालु खर्चतर्फ अधिकतम ३ खर्ब ४७ अर्ब २३ करोड ८९ लाख रुपैयाँ बराबरको ९लक्षित खर्चको ३०।४१ प्रतिशत० खर्च भएको छ भने पुँजीगत तर्फ जम्मा ३४ अर्ब ८ करोड ४६ लाख रुपैयाँ मात्र खर्च हुन सकेको छ । यो लक्षित खर्चको जम्मा ११।२८ प्रतिशत मात्र हो ।

सरकारले चालु आर्थिक वर्षमा पुँजीगत खर्चतर्फ कूल ३ खर्ब २ अर्ब ७ करोड ४४ लाख रुपैयाँ विनियोजन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्