यू-१९ एसिया कपमा आज नेपालले भारतसँग खेल्दै

काठमाडौं, २६ मंसिर । यू१९ एसिया कपमा आज नेपालले भारतसँग खेल्दै छ। युएईको दुबईस्थित आइसिसी एकेडेमी ओभल-२ मा बिहान सवा ११ बजे नेपाल र भारतबीचको खेल सुरू हुनेछ।

समूह ‘ए’ मा रहेको भारत र नेपाल दुबैले आज समूह चरणको अन्तिम खेल खेल्दै छ।

यसअघि समूह चरणको दुई खेलमा भारतले एक जित र एक हार व्यहोरेको थियो। उसले अफगानिस्तानविरूद्ध सात विकेटको जित निकाल्दा पाकिस्तानसँग ८ विकेटको हार व्यहोरेको थियो।

नेपाल भने समूह चरणको दुबै खेलमा पराजित भएको थियो। नेपाल अफगानिस्तानसँग ७३ रन र पाकिस्तानसँग ७ विकेटले पराजित भएको थियो।

अंक तालिकामा पाकिस्तान ४ अंकसहित शीर्षस्थानमा छ भने भारत र अफगानिस्तान २/२ अंकसहित दोस्रो र तेस्रो स्थानमा छ। समूह चरणका शीर्ष दुई टिमले सेमिफाइनल खेल्नेछ। समूह चरणमा दुई हार ब्यहोरेपनि नेपालको सेमिफाइनल सम्भावना सकिएको छैन।
आज नेपालले भारतलाई हराएर पाकिस्तानले अफगानिस्तानलाई हरायो भने नेपाल सेमिफाइनल पुग्नेछ।

अफगानिस्तान र पाकिस्तानबीचको खेल पनि आजै सवा ११ बजे सुरू हुनेछ। समूह ‘बी’ को समूह चरणको अन्तिम खेल भोलि हुनेछ।

समूह ‘बी’ मा बंगलादेश, श्रीलंका, यूएई र जापान छन्। ४ अंकसहित बंगलादेश समूह ‘बी’ को शीर्ष स्थानमा छ। श्रीलंका र आयोजक युएई समान २र२ अंकसहित दोस्रो र तेस्रो स्थानमा छ।

समूह चरणमा दुबै खेल हारेको जापान शून्य अंकसहित पुछारमा छ। सेमिफाइनल खेल शुक्रबार हुनेछ। सेमिफाइनलमा जित्ने दुई टिमले पुस १ गते उपाधिका लागि भिड्नेछ।

प्रतिक्रिया दिनुहोस्