उत्कृष्ट ब्याटिङबाट उदाउदै अर्जुन

काठमाडौं, २५ मंसिर । नेपाली राष्ट्रिय क्रिकेट टिमका तत्कालीन प्रशिक्षक डेभ वाटमोरले १५ वर्षीय अर्जुन कुमाललाई २०७७ को माघमा नेपाली राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा बोलाए।

अर्जुनको खुसीको सीमा नै रहेन किनकी १५ वर्षको उमेरमै सिनियर टिमको बन्द प्रशिक्षणमा बोलाइएपछि भारतको राजधानी दिल्लीमा परिवारसँग बस्ने अर्जुन आमाको साथमा तत्काल काठमाडौं आइपुगे।

२०७७ को प्रधानमन्त्री कपमा गरेको प्रदर्शनको आधारमा वाटमोरले बन्द प्रशिक्षणमा स्थान दिएका थिए। अर्जुन सबैभन्दा कान्छा खेलाडी थिए । नेपाली क्रिकेटको भविष्य वाटमोरले अर्जुनमा देखेका थिए।

त्यसैले सिनियर खेलाडीसँग घुलमिल गर्दै प्रशिक्षण गर्ने अवसर जुटाइदिए। त्यतिबेला उनी राष्ट्रिय टिममा नपरे पनि अहिले नेपाली क्रिकेटमा उत्कृष्ट ब्याटरको रूपमा उदाइरहेका छन्।

अर्जुनले युएईको दुबईमा भइरहेको एसिसी एसिया कपमा उत्कृष्ट ब्याटिङ गर्दै नेपाली क्रिकेटको भविष्य राम्रो भएको संकेत गरेका छन्। सुरूआती दुई खेलमा नेपालले हार बेहोरे पनि अर्जुनले आफ्नो ब्याटिङ कौशल देखाएर सबैलाई मोहित पारेका छन्।

अर्जुनले पाकिस्तानविरूद्धको पहिलो खेलमा २१ रन जोडे। उनले सो खेलमा ३७ बलमा ३ चौका प्रहार गरे।

उनले धैर्यपूर्वक आइतबार अफगानिस्तानविरूद्ध ब्याटिङ गरे। एक छेउमा नेपालले लगातार विकेट गुमाइरहँदा अर्को छेउबाट अर्जुनले अन्तिम विकेट बाँकी रहँदासम्म ब्याटिङ गरे। लोभलाग्दा सट प्रहार गर्दै ४१ औं ओभरसम्म मैदानमा टिके।

अफगानिस्तानविरूद्ध उनले १०८ बलमा १३ चौकाको मद्दतमा ९१ रन जोड्न सफल भए। सोमबार १८ वर्ष पूरा भएका अर्जुनले अब सिनियर टिममा आफ्नो स्थान बनाउन दाबेदारी दिने संकेत गरे।

अर्जुनको पुर्ख्यौली घर गुल्मी भए पनि भारतमा परिवारसँगै बस्दै आएका छन्। सात वर्षको उमेरदेखि उनले दिल्लीमा क्रिकेट सिक्न थाले।

नेपालको घरेलु क्रिकेट खेल्न आउन थालेको पनि अर्जुनको सात वर्ष नै भयो।

सुरूमा उमेर समूहको क्रिकेट खेलेका कुमालले नेपालको यू–१६ टिमबाट समेत खेले। त्यसपछि उनी गण्डकी प्रदेशको यू–१९ टिम हुँदै सिनियर टिममा समेत परे।

२०७७ को प्रधानमन्त्री कपमा गण्डकीको सिनियर टिमबाट खेलेपछि उनी चर्चामा आएका थिए। १५ वर्षको उमेरमा राष्ट्रिय प्रतियोगिता खेल्ने क्रममा उनले आर्मीविरूद्धको पहिलो खेलमा ३६ रन बनाए।

त्यसपछि कोशी प्रदेशविरूद्ध ३५ रन र कर्णालीविरूद्ध ४६ रन जोडे। यही प्रदर्शनको आधारमा राष्ट्रिय टिमका तत्कालीन प्रशिक्षक वाटमोरले अर्जुनलाई राष्ट्रिय टिममा स्थान दिएका थिए।

वाटमोरले त्यतिबेला अर्जुनलाई निकै उपयोगी टिप्स दिएका थिए। ुप्रशिक्षक (वाटमोरले) ले मेरो ब्याटिङ हेरेपछि वेल प्लेड भन्नुभयो। उहाँले अझै छिटो ब्याटिङ गर पनि भन्नु भएको छ, १५ वर्षीय अर्जुनको भनाइ थियो।

१५ वर्षमै राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा परेर चर्चामा आएपछि अर्जुनका लागि पछाडि फर्केर हेर्न परेको छैन। उनी अहिले नेपालको युवा टिमको महत्वपूर्ण सदस्य बनिसकेका छन्।

युवा टिमको ओपनिङ ब्याटरको भूमिकामा जमेका अर्जुनसहितका खेलाडीको उत्कृष्ट प्रदर्शनमा नेपालले ८ वर्षपछि पहिलो पटक यू–१९ विश्वकपमा स्थान बनायो। यस्तै, एसिसी प्रिमियर उपाधि जित्न सफल भयो।

आगामी महिना दक्षिण अफ्रिकामा हुने यू–१९ विश्वकपमा केन्द्रित भइरहेका अर्जुन अहिले आफू नेपालको यू–१९ टिममै रमाइरहेको बताउँछन्।

अर्जुन नेपालका लागि कुनै पनि अन्तर्राष्ट्रिय खेलको एकै इनिङ्ग्समा सर्वाधिक रन बनाउने ब्याटर हुन्।

दुई महिनाअघि मलेसियामा भएको एसिसी यू(१९ प्रिमियर कपमा उनले साउदी अरेबियाविरूद्ध १४२ रन जोडेका थिए। यो स्कोर नेपालका ब्याटरले एकै इनिङ्ग्समा कुनै पनि स्तरमा प्रहार गरेको सर्वाधिक रन हो।

अर्जुनले १४२ रन बनाउनु केहीअघि मात्र यो कीर्तिमान कुशल मल्लले एसियाली खेलकुदमा मंगोलियाविरूद्ध १३७ रन बनाएर बनाएका थिए।

अर्जुनको नाममा नेपालका लागि यू–१९ टिमबाट दुई शतक बनाउने ओपनरको कीर्तिमान पनि छ। एसिसी प्रिमियर कपमा साउदीसँग शतक प्रहार गरेका अर्जुनले गत वर्ष भएको आइसिसी यू–१९ विश्वकप एसिया क्षेत्र छनोटमा कुवेतविरूद्ध १०८ रन बनाएका थिए।

प्रतिक्रिया दिनुहोस्