पेट्रोल डिजेलको खपत घट्न थाल्यो, राजस्व पनि प्रभावित हुँदै
पेट्रोल डिजेलको खपत घट्न थाल्यो, राजस्व पनि प्रभावित हुँदै
काठमाडौं ३, मंसिर । पछिल्ला महिनाहरुमा मुलुकले अपेक्षाकृत राजस्व सङ्कलन गर्न सकेको छैन । राजस्व सङ्कलन गर्ने प्रमुख निकाय आन्तरिक राजस्व विभाग र भन्सार विभाग दुवैले लक्ष्य अनुसारको राजस्व सङ्कलन गर्न सकेका छैनन् ।
राजस्व सङ्कलनमा प्रमुख भूमिका निर्वाह गर्दै आइरहेको भन्सार विभागलाई हरेक वर्ष राजस्व सङ्कलनको लक्ष्य बढाएर दिने गरिएको छ । तर उसले भने त्यस अनुसार राजस्व सङ्कलन गर्न सक्ने अवस्था कम हुँदै जान थालेको तथ्याङ्कमा देखिन्छ । किनकि भन्सार विभागले सबैभन्दा बढी राजस्व डिजेल र पेट्रोलबाट सङ्कलन गर्ने गर्छ । तर त्यही बस्तु आयात भने घट्दै जान थालेको विभागले नै सार्वजनिक गरेको तथ्याङ्कमा देखिन्छ ।
गत आर्थिक वर्ष मात्रै विभाग मार्फत २० लाख ७९ हजार किलो लिटर पेट्रोल र डिजेल नेपाल भित्रियो। जसको मूल्य दुई खर्ब २० अर्ब रुपैयाँ थियो । उक्त मूल्य बराबरको डिजेल र पेट्रोल आयात गर्दा सरकारले ९१ अर्ब ७१ करोड रुपैयाँ राजस्व स्वरूप सङ्कलन गर्यो। यस हिसाबले हेर्दा हरेक वर्ष डिजेल र पेट्रोल बाटै सबैभन्दा बढी राजस्व सङ्कलन गर्छ । हरेक वर्ष बढ्दै गइरहेको इन्धन आयातले राजस्व पनि बढ्दै गइरहेको थियो । तर गत वर्षबाट यसको आयात घट्दो अवस्थामा छ। सोही वर्षबाट भन्सारबाट उठ्ने राजस्व पनि कम हुँदै गएको छ ।
गत वर्ष खस्किएको आयत चालु वर्षको तीन महिनामा पनि खासै बढ्न सकेको छैन । भन्सार विभागले प्रकाशन गरेको असोजसम्मको तथ्याङ्कमा पनि यसको आयात सामान्य मात्रै बढेको देखिएको छ । आर्थिक वर्ष २०८०/०८१ को असोजसम्म चार लाख ३५ हजार किलो लिटर पेट्रोल र डिजेल आयात भयो । गत वर्ष सोही अवधिमा तीन लाख ९६ हजार किलो लिटर आयात भएको थियो । जसको तुलनामा चालु वर्ष थोरै बढेको हो । तर अघिल्लो वर्ष नै सोही अनुपातमा आयात भएको थियो। आर्थिक वर्ष २०७८/७९ मा पाँच लाख ६ हजार किलो लिटर आयात भएको थियो।
तीन वर्ष अघि कै अनुपातमा समेत आयात नहुनुले राजस्व सङ्कलन प्रभावित भएको छ। किनकि अघिल्लो वर्ष तीन महिनामा मात्रै डिजेल र पेट्रोलबाट विभागले २० अर्ब तीन करोड रुपैयाँ सङ्कलन गरेको थियो। तर चालु वर्षको तीन महिनामा २० अर्ब ७० करोड मात्रै सङ्कलन हुनुले पनि राजस्व सङ्कलन प्रभावित पारेको प्रस्ट हुन्छ। तीन वर्ष अघि विभागले पाएको राजस्व सङ्कलनको लक्ष्य र चालु वर्ष बढेको उसको लक्ष्य पुरा हुन यसको आयात उल्लेख्य बढ्नु पर्छ। अनि मात्रै विभागले पाएको लक्ष्य पूरा हुन्छ।
पेट्रोल र डिजेलको आयात कम हुँदा व्यापार घाटा कम हुनु आफैमा राम्रो विषय हो। तर विभाग मार्फत सङ्कलन हुने राजस्वले नै मुलुक चल्ने भएकोले राजस्व परिचालनमा त्यसले ठूलो असर गर्दै लगेको छ । यस विषयमा अर्थ मन्त्रालय राजस्व विभाग समेत जानकार नभएको होइन। उसले मुलुकमा घट्दै गएको डिजेल पेट्रोलको खपतलाई विद्युतीय सवारीसाधन र बिजुलीको पर्याप्ततालाई कारणको रुपमा औँल्याएको छ । पेट्रोल र डिजेलको खपत घट्नुमा विद्युतीय सवारी साधन र बिजुलाको पर्याप्तता हो ।
सरकारले कारण औँल्याए पनि त्यसको विकल्पको रुपमा बढी राजस्व सङ्कलनको अर्को विकल्प के हुन सक्छ भन्ने विषयमा कुनै ठोस योजना भने अझै बनाएको छैन। सरकारले त्यसका लागि योजना अध्ययन र योजनामा काम गरिरहेको बताइएको छ । डिजेल र पेट्रोलबाट उठ्ने रेभिन्यु घट्दै गर्दा त्यसको विकल्प के हुन सक्छ भनेर अध्ययन गरिरहेको छ ।
सरकारले राजस्वको लक्ष्य बढाउँदै लैजाने र पेट्रोल र डिजेलबाट उठ्ने राजस्व यसैगरी कम हुँदै गए आउने केही वर्षमै सरकारलाई राजस्व परिचालनमा अहिलेको भन्दा बढी सकस हुने निश्चित छ ।
प्रतिक्रिया दिनुहोस्