शेयर धितो कर्जा बढ्न थाल्योे, दशैंपछि बढ्ने नै हो बजार ?
काठमाडौं । गत आर्थिक वर्ष निरन्तर रुपमा घटेको शेयर धितो कर्जा पछिल्लो केहि महिनादेखि बढ्न थालेको छ। गत असार, साउन र भदौ महिनामा शेयर धितो कर्जा लिने लगानीकर्ता बढेका छन्।
गत असार महिनामा शेयर धितो कर्जा साढे २ अर्ब रुपैयाँले बढेको थियो भने साउनमा पनि करिब ११ करोड रुपैयाँले यस्तो कर्जा बढेको थियो। भदौमा भने यस्तो कर्जा १ अर्ब २७ करोड रुपैयाँले बढेको छ।
नेपाल राष्ट्र बैंकको तथ्याँक अनुसार गत साउन मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाले शेयर धितो कर्जामा ७६ अर्ब ४१ करोड रुपैयाँ लगानी गरेकोमा भदौसम्ममा यस्तो कर्जा ७७ अर्ब ६८ करोड रुपैयाँ पुगेको छ।
कुल शेयर धितो कर्जामा ६० अर्ब ७० करोड रुपैयाँ कर्जा वाणिज्य बैंकहरुले मात्रै लगानी गरेका छन्। भदौ महिनामा मात्रै वाणिज्य बैंकहरुले ८० करोड रुपैयाँ शेयर धितो कर्जा लगानी गरेका छन्।
सामान्यतया शेयर बजार बढ्दा लगानीकर्ताले पनि शेयर बजारमा लगानी बढाउने गर्छन। यसले गर्दा कारोबार रकम पनि बढ्छ। शेयर बजारमा आउने पैसाको एउटा मुख्य स्रोत बैंकको कर्जा पनि हो।
गत आर्थिक वर्षमा शेयर बजार १८०० देखि २२०० विन्दुमा धेरै पटक तलमाथि गर्यो। तर बजारले अपट्रेण्ड भने समाउन सकेन। केन्द्रिय बैंक शेयरबजारप्रति लचक नहुनु र सरकारले पनि शेयर बजारलाई प्राथमिकतामा राखेर नीति नल्याउँदा शेयर बजारले गति समाउन सकेन। जसले गर्दा लगानीकर्ताले पनि बैंकबाट कर्जा लिएर शेयर बजारमा लगानी गर्न चाहेनन्। उल्टो कर्जा चुक्ता गर्ने तिर लागे। यसले गर्दा गत आर्थिक वर्षमा शेयर धितो कर्जा ५ प्रतिशतभन्दा धेरैले घटेको थियो।
राष्ट्र बैंकले २५ लाख रुपैयाँ भन्दा बढीको कर्जामा जोखिम भार १५० प्रतिशत कायम गरेको थियो। तर चालु आर्थिक वर्षको मौद्रिक नीतिबाट ५० लाखसम्मको कर्जामा जोखिम भार १ सय प्रतिशत मात्रै कायम गरेको छ यसले गर्दा मौद्रिक नीतिपछि ५० लाखसम्मको शेयर धितो कर्जा लिने लगानीकर्ता बढेका छन्।
गत असर र साउनमा मात्रै २५ देखि ५० लाखसम्मको कर्जा ८।६ प्रतिशत अर्थात ११ करोड रुपैयाँले बढेको राष्ट्र बैंकको तथ्याँकले देखाउँछ। असार मशान्तसम्ममा २५ लाखदेखि ५० लाख रुपैयाँसम्मको शेयर धितो कर्जा १२ अर्ब ७८ करोड रुपैयाँ रहेकोमा भदौ अन्तिमसम्ममा बढेर १३ अर्ब ८८ करोड रुपैयाँ पुगेको छ।
१ सय प्रतिशतभन्दा बढी जोखिम भार कायम गर्दा बैंकहरुले बढी पूँजी छुटुयाउनु पर्ने हुँदा जोखिम भार बढी भएको क्षेत्रमा लगानी गर्न बैंकहरु इच्छुक हुँदैनन्। यसले गर्दा पनि ठूला रकमको कर्जा भने धेरै बढ्न सकेको छैन।
राष्ट्र बैंकले शेयर धितोमा दिने मार्जिन कर्जामा ४–१२ करोडको कर्जा नीति लागू गरेपछि मार्जिन कर्जा घट्दै गएको हो। राष्ट्र बैंकले समग्र बैकिङ्ग प्रणालीबाट एक जनाले १२ करोड रुपैयाँ र एक बैंकबाट ४ करोड रुपैयाँसम्म मात्रै शेयर धितोमा ऋण लिन पाउने व्यवस्था गरेको थियो । पछि केन्द्रीय बैंकले ४ करोडको सिमालाई हटाएको छ भने १२ करोडको सिमालाई यथावत राख्यो। तर दुई साता अघि चौतफि दबावपछि केन्द्रिय बैंकले यो सिमालाई बढाएर व्यक्तिगतलाई १५ अर्ब र संस्थागतलाई २० अर्ब पुर्याएको छ। १ खर्ब ८ अर्ब रुपैयाँसम्म पुगिसकेको मार्जिन कर्जा ४–१२ को नीति लागू गरेपछि धितोमा रहेको शेयर धमाधम बेचेर ऋण चुक्ता गर्दा मार्जिन कर्जा घट्दै गएको हो। तर केन्द्रीय बैंकले केहि लचक नीति लिन थालेसँगै शेयर धितो कर्जा बढ्न थालेको देखिन्छ।
शेयर धितो कर्जा बढ्दै जाँदा यसले शेयर बजारमा माग बढाउने छ भने बजारले पनि सकारात्मक लय समाउन सक्ने आँकलन गरिएको छ।
प्रतिक्रिया दिनुहोस्