सेयर बजारका समस्या समाधानका लागि उपाय खोजिन्छ : अर्थमन्त्री महत
काठमाडौं, असोज १५ । अर्थमन्त्री प्रकाशशरण महतले सेयर बजारका समस्या समाधानका लागि उपाय खोजिने बताएका छन् । सोमबार ललितपुरमा आयोजित विश्व लगानीकर्ता सप्ताह– २०२३ उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै महतले बजार पनि स्वस्थ हुनुपर्नेमा जोड दिए ।
हाल बजार तल झर्नुमा नियमकको माइक्रोम्यानेजमेन्टका केही समस्या रहेको उनले औंल्याए । ‘अहिले सेयर मार्केट तल झरेको छ, त्यसका विविध कारण छन् । रेगुलेसनका केही माइक्रोम्यानेजमेन्टका विषयले पनि समस्या आएको छ’ उनले भने ‘यसको विस्तारै समाधान हुँदै जान्छ, समाधान हुनुपर्छ । त्यसमा केही निर्णयहरु चाँडै आउलान् भन्ने मैले विश्वास लिएको छु ।’
लगानीकर्ताको लगानी सुरक्षित गर्नुपर्ने विषय अहिले चुनौतिपूर्ण तर जरुरी रहेको बताए । विस्तारै सेयर बजार बढ्दै जाने उनले दाबी गरे । ‘जे भएपनि यो सेयर मार्केटलाई स्वस्थकर बनाउन जरुरी छ, कतिपय बेलामा इन्साइडर ट्रेडिङका कुराहरु आउने, सूचना लिक हुने, जुन प्रवृत्ति देखिएको छ । यसलाई निर्णायक हिसावले दायरामा ल्याउनुपर्छ, आम लगानीकर्तालाई मध्यनजर राखेर व्यवस्थित गर्नुपर्छ’ महतले भने ।
पछिल्लो समय शेयर बजार माथि उक्लिन सकेको छैन । यहि कारण लगानीकर्ता पनि निराशा छन् ।
प्रतिक्रिया दिनुहोस्