देशैभर रहेका पाँच वर्ष मुनिका बालबालिकालाई आज भिटामिन ए र जुकाको औषधि खुवाउँदै
काठमाडौं । मुलुकभर रहेका पाँच वर्ष मुनिका बालबालिकालाई सरकारले आज भिटामिन ए र जुकाको औषधि खुवाउँदैछ ।
एकवर्ष देखि पाँच वर्षसम्मका बालबालिकालाई जुकाको औषधि र ६ महिनादेखि पाच वर्षसम्मका बालबालिकालाई भिटामिन ए खुवाउन लागेको बाल स्वास्थ्य महाशाखाले जनाएको छ ।
करीब ३८ लाख बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउन ४८ हजार महिला स्वास्थ्य स्वयम् सेविका खटाइएको महाशाखा अन्तर्गतको खोप शाखाका अधिकृत बसन्त श्रेष्ठले बताउनुभयो ।
आज छुटेका बालबालिकालाई भोलि पनि भिटामिन र औषधि खुवाइनेछ । सरकारले वैशाख ५ र ६, कार्तिकको २ र ३ गते गरी वर्षको दुई चरणमा भिटामिन ए र जुकाको औषधि खुवाउने गरेको महाशाखाले जनाएको छ ।
सरकारले २०५४ सालदेखि पाँच वर्ष मुनिका बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउन सुरु गरेको हो । आफुलाई पायक पर्ने ठाउँमा गएर बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउन महाशाखाले सबैलाई आग्रह गरेको छ ।
प्रतिक्रिया दिनुहोस्