शिक्षकको आन्दोलन : काठमाण्डौ उपत्यकामा गाडी आवागमन अस्तव्यस्त

काठमाडौं, असोज ३ । शिक्षकहरूको आन्दोलनका कारण काठमाण्डौ उपत्यकाको ट्राफिक व्यवस्थानमा समस्या भएको छ ।

माइतीघर मण्डलामा भेला भएका शिक्षकहरूले सडक नै ढाकिने गरी प्रदर्शन गरिरहेकाले गाडी आवागमन अस्तव्यस्त भएर समस्या आएको हो ।

भिडभाडका कारण गाडीको चाप भएपछि माइतीघर मण्डला हुँदै चल्ने गाडीलाई नयाँ बानेश्वर, पुरानो बानेश्वर, थापाथली, भद्रकाली लगायतका ठाउँबाट ुडाइभर्सनु गरिएको उपत्यका ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । अहिले ट्राफिक प्रहरीले माइतीघर क्षेत्रको सडक खुलाउने प्रयास जारी राखेको जनाएको छ ।

सरकारले संसद् सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको विरोधमा काठमाण्डौको माईतीघरमा शिक्षकहरूले आज बुधवारदेखि आन्दोलन थालेका हुन् । नेपाल शिक्षक महासङ्घको अगुवाइमा देशभरबाट आन्दोलनमा आएका शिक्षकहरू माइतीघरमा भेला भई प्रदर्शन गरिरहेका छन् ।

संसदमा दर्ता भएको शिक्षा विधेयकमा महासङ्घले विभिन्न १८ बुँदे असहमति प्रकट गरेको छ । जसमा सरुवा, बढुवा, दरबन्दी, स्थानीय पालिकाअन्तर्गत नबस्ने सहितका माग छन् । यो माग पूरा नभएसम्म आन्दोलन नरोकिने महासङ्घले चेतावनी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्