शेयर बजार १६ अङ्कले बढ्यो, १ अर्ब १७ करोड रुपैयाँको कारोबार

काठमाडौं, असोज २ ।  शेयर बजार आज मङ्गलवार पनि बढेको छ । शेयर बजार परिसूचक नेप्से आज १६ दशमलव २४ अङ्कले बढेर एक हजार नौ सय ८५ दशमलव ४३ विन्दुमा पुगेको छ ।

आज होटल र व्यापारबाहेक अरू सबै समूहको शेयर उकालो लागेको छ । आज जलविद्युत्, विकास बैंक र उत्पादन समूहको शेयर उच्च अङ्कले बढेको छ ।

आज सबैभन्दा धेरै शुभम् पावर, थ्री स्टार हाइड्रो र मेन्छियाम हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले तथा बलेफी हाइड्रो, अभियान लघुवित्त, पिपुल्स हाइड्रो र राप्ती हाइड्रोपावर कम्पनीको शेयर नौ प्रतिशतभन्दा धेरैले बढेको छ । समग्रमा बजार बढेको दिन आज सबैभन्दा धेरै इमर्जिङ नेपाल कम्पनीको शेयर आठ प्रतिशले घटेको छ ।

आज दुई सय ७२ वटा कम्पनीका ४३ लाख ३६ हजार कित्ता शेयर कारोबार भएका छन् । ५० हजार दुई सय पटक भएका कारोबारमा एक अर्ब १७ करोड ६६ लाख रुपैयाँको शेयर किनबेच भयो । सबैभन्दा धेरै रियायबल नेपाल लाइफ इन्सुरेन्स कम्पनीको १० करोड छ लाख रुपैयाँको शेयर खरिद बिक्री भएको छ ।

प्रतिक्रिया दिनुहोस्