साल्ट ट्रेडिङको ६ दशक, सेवा र व्यापारमा सफलता
काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड आफूलाई सफल संस्थानको रूपमा उभ्याउन सफल भएको छ । नेपालमा सार्वजनिक संस्थानहरूले त्यति राम्रो उपलब्धि हासिल गर्न नसकिरहेको बेला साल्ट ट्रेडिङ कर्पोरेशन भने यो उपलब्धि हासिल गर्न सफल भएको हो । योसँगै कर्पोरेशन ६१ वर्षमा पनि प्रवेश गरेको छ ।
नेपाल सरकारको सार्वनिक स्वामित्वमा २०२० साल २७ भदौमा स्थापना भएको साल्ट ट्रेडिङ कर्पोरेसन सफलताको ६० औं वर्ष पूरा गरी ६१ औं वर्ष प्रवेश गरेको छ । मुलुकभर अत्यावश्यक दैनिक उपभोग्य वस्तु नुन आपूर्तिलाई व्यवस्थित र नियमित गर्न तत्कालीन राजा महेन्द्रले सरकारी स्वामित्वको संस्था र नुन कारोबारमा लागेका मुख्य व्यापारीलाई समावेश गरी साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड स्थापना गरेका थिए ।
साल्ट ट्रेडिङले दशकौंदेखि नेपालमा सहज र सुपथ मूल्यमा खाद्य तथा दैनिक उपभोग्य वस्तु विक्री गरेर मुलुकको आपूर्ति प्रणालीमा उल्लेख्य सहयोग पु¥याइरहेको छ ।
त्यति मात्रै होइन ट्रेडिङले नुन उत्पादनसँगै विविध क्षेत्रमा लगानीको दायरालाई पनि बढाएको छ । छ दशकको इतिहास बोकेको कम्पनीले कारोबारमा विविधीकरण गरेको र व्यावसायिक फड्को मार्न सफल भएको हो ।
कम्पनीले आम सर्वसाधारणलाई थोक मूल्यमा खाद्यान्न लगायतका वस्तु उपलब्ध गरिरहँदा बर्सेनि अर्बौंको व्यापार गर्न सफल भएको छ। कम्पनीले आर्थिक वर्ष २०७९÷०८० मा मात्रै ८ अर्ब ७७ करोड ४४ लाख रुपैयाँबराबरको वस्तु बिक्री गरेको जनाएको छ।
नेपालमा नुन उत्पादन नहुने र भारत र चीनबाट आयातमा निर्भर हुनुपर्ने भएकाले सन् १९६३ मा आयोडिनयुक्त साझा नुन वितरणका लागि साल्ट ट्रेडिङ स्थापना भएको हो। देशभरका सबै नागरिकलाई नुन उपलब्ध गराउने उद्देश्यले निगमको स्थापना भएकोे थियो।
जस्तोसुकै संकटमा पनि साल्टले नूनको हाहाकार हुन दिएन भने मूल्य तथा गुणस्तरमा एकरूपता राख्न सफल भएको देखिन्छ । कोरोना महामारीको बेलामा पनि कर्पोरेशनले विक्री वितरण गर्ने कुनै पनि सामग्रीको अभाव हुन दिएन । नाफामुखी नभएर उपभोक्तामुखी भएर बजारमा प्रस्तुत भएको छ । कम्पनीका अनुसार सरकारले दुर्गम क्षेत्रका २२ जिल्लामा नून ढुवानी गर्न मात्रै अनुदान दिएको छ ।
साल्ट विभिन्न चुनौती, उतारचढाव, आरोह–अवरोह पार गर्दै अघि बढेको सरकारी संस्थान हो । साल्ट ट्रेडिङले अहिले आफ्नो उद्देश्यअनुसार गुणस्तरीय विक्रीवितरण, मूल्यमा एकरूपता र उपलब्धतामा सुनिश्चितता जस्ता मूल मन्त्र बनाएर सेवा दिइरहेको छ । तत्कालीन समयमा जनतालाई सहज रूपमा नून उपलब्ध गराउन स्थापना गरिएको कर्पोरेशनले पछिल्ला दिनमा व्यापारमा विविधीकरण गर्दै नूनसँँगै अन्य उत्पादनका लागि पनि लगानी गरेको छ ।
कम्पनीले अत्यावश्यक दैनिक उपभोग्य वस्तुको उचित आपूर्ति र वितरण सुनिश्चित गर्न (नेपाल सरकारको ग्याजेटमा सूचीबद्ध), कालोबजारी हटाउन (बजार र कृत्रिम अभावलाई नियमन गर्न) र औद्योगिक विकासमा ठूलो योगदान पु¥याएको छ। कम्पनीका मुलुकभरिका सबै प्रमुख सहरमा शाखा छन्। एसटीसीका पाँच उत्पादनमूलक कारखाना छन्।
संस्थाले विभिन्न वस्तु तथा सेवाको व्यापार, आयात, निर्यात, उत्पादन, प्रशोधन, आपूर्ति र वितरणजस्ता कर्पोरेट गतिविधिमा संलग्न गरेको छ। खाद्यवस्तु, कृषि उत्पादन, निर्माण सामग्री, मेसिनरी तथा औजार, कागजका उत्पादन र अन्य वस्तुहरू व्यापार र व्यवसायका प्रमुख वस्तु हुन्।
यसैबीच साल्ट ट्रेडिङले २०६० सालदेखि गहुँको बिउ उत्पादन पनि गर्दै आएको छ।व्यापारमा विविधीकरण र अन्य अत्यावश्यक वस्तुको समेत व्यापार बढाउने सोचसहित कर्पोरेशनले नेपालमै उत्पादित कृषि वस्तुमा आधारित उद्योग पनि स्थापना गर्ने नीति लिँदै आएको छ । साल्ट ट्रेडिङ कर्पोरेशनले गर्ने कारोबारको अवस्था बढ्दो छ ।
आम उपभोक्ताको सेवामा निरन्तर साल्ट ट्रेडिङ कर्पोरेशन व्यापारमा सफल मात्र भएको छैन, सार्वजनिक संस्थानहरूमध्ये नाफा आर्जन गर्न सक्ने संस्थाको रूपमा समेत स्थापित भएको छ । गुणस्तरीय सेवाका कारण पनि कम्पनीको कारोबार बढेको हो ।
प्रतिक्रिया दिनुहोस्