पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप १० हजार किशोरीलाई दिइने

काठमाडौं, भदौ २१ ।  नेपालको सातै प्रदेश अस्पतालबाट भदौ २७ देखि पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप वितरण गर्ने तयारी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय परिवार कल्याण महाशाखाले जनाएको छ।

बिहीवारमहाशाखाले जानकारी दिंदै यो पटक १० हजार किशोरीहरुलाई पुग्ने मात्र खोप रहेको जनाएको छ। सातै प्रदेशका प्रादेशिक अस्पतालहरुबाट सीमीत संख्यामा खोप वितरण हुन लागेको परिवार कल्याण महाशाखा खोप शाखाका प्रमुख डा.अभियान गौतमले बताए।

गत असारमा सरकारले चीनबाट २० हजार मात्रा पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप खरिद गरी ल्याएको थियो। २० हजार भाइल खोप दुइ मात्रा एउटै व्यक्तिलाई दिनु पर्ने भएकोले हाल १० हजार जना किशोरीलाई मात्र पुग्ने डा.गौतमले बताए। नेपालमा विद्यमान सवै किशोरीहरुलाई पुग्ने गरी अर्को वर्षको अन्तिमसम्म अन्तराष्ट्रिय खोप अभियान संस्था गाभी मार्फत आउने निश्चित भएको डा. गौतमले जानकारी दिए।

यो वर्ष सीमित संख्यामा भएकोले‘प्रदर्शन’खोपको रुपमा लिन कार्यक्रम सुरु भएको डा. अभियानले बताए। ‘अर्को वर्षं सबैलाई पुग्ने गरी खोप आइपुग्नेछ, यो वर्ष प्रदर्शनको रुपमा मात्र खोप पुग्ने भयो’उनले भने। सरकारले गत असारमा ९ करोड मूल्य बराबरको खोप खरिद गरी लिएको थियो।

यो खोप १० देखि १४ वर्षभित्रका किशोरीहरुले लिन सक्नेछन्। खोप ६ महिनाको अन्तरमा एउटै व्यक्तिले दुइ मात्रा लगाउन मिल्छ। दुइ मात्रा लगाएमा मात्र हयुमन पेपिलोमा भाइरस विरुद्ध काम गर्ने अर्थात पाठेघरको मुखको क्यान्सरवाट बच्न सकिनेछ। खोप लिन जाँदा उमेर खुल्ने प्रमाणपत्र, दोस्रो मात्राको हकमा खोप कार्ड लिएर खोप केन्द्रमा जानु पर्नेछ। यो खोेप लिएपछि खोप लगाएको ठाउँमा दुख्ने, ज्वरो आउने, थकान महसुस हुने, एलर्जी हुने,वाकवाकी लाग्नु, टाउको दुख्नु रिंगटा लाग्ने जस्ता लक्षणहरु देखिन सक्छ। यस्ता लक्षण रहिरहेमा स्वास्थ्य संस्थामा सम्पर्क गर्नु पर्नेछ।

खोप सुरक्षित रहेकोले स्वास्थ्य संस्थामा पुगेर लिनको लागि स्वास्थ्य सेवा बिभागकी प्रमुख डा। संगिता मिश्रले अनुरोध गरेकी छिन्। उनले भनिन्, ‘खोप सुरक्षित छ, सबैले लगाउनु होला।’

कोशी प्रदेशको कोशी प्रादेशिक अस्पतालबाट भदौ २८ देखि ३० सम्म, मधेश प्रदेशको नारायणी अस्पतालबाट २९ देखि ३१ गतेसम्म बागमतीमाको प्रसूति गृहबाट २७ देखि ३० गतेसम्म, गण्डकीको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट २७ देखि ३० गतेसम्म, लुम्बिनीको भेरी अस्पतालबाट २७ देखि ३० गतेसम्म, सुर्खेत अस्पतालबाट २७ देखि ३० गतेसम्म र सुदूर पश्चिमको डडेल्धुरा अस्पतालबाट २७ देखि २९ गतेसम्म खोप दिइनेछ।

विभिन्न प्रदेशमा निम्न संख्यामा खोप वितरण गरिएको महाशाखाले जननाएको छ। कोशीमा ४ हजार ५० भाइल, मधेशमा ३१ सय ७० भाइल, गण्डकीमा ६ हजार ५८ भाइल, गण्डकीमा १८ सय ४०, लुम्विनीमा २४ सय ३० भाइल, कर्णालीमा १६ सय ८० भाइल र सुदुरपश्चिममा ७ सय ७० भाइल खोप पठाइएको छ।

उनका अनुसार ‘ह्युमन प्यापिलोमा भाइरस’को कारणले पाठेघरको मुखमा क्यान्सर हुने गर्दछ। भाइरसका कारणले ९९ प्रतिशत र असुरक्षित यौन सम्पर्क, धूमपान र सानै उमेरमा विवाह गर्नेलगायत कारणले एक प्रतिशतलाई हुने गर्छ।

प्रतिक्रिया दिनुहोस्