डेंगी संक्रमितको संख्या १८ हजार नाघ्यो, विज्ञ भन्छन्– पोष्ट मनसुनसम्मै रहन्छ संक्रमण

काठमाडौं , भदौ ८ । यो वर्ष (सन् २०२३) नेपालमा डेंगी संक्रमितको संख्या १८ हजार नाघेको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)को तथ्यांकअनुसार जनवरी यता अगष्ट २४ सम्म १८ हजार ३८९ जनामा संक्रमण पुष्टि भएको छ । जुलाइयता संक्रमणका कारण १३ जनाको मृत्यु पुष्टि भएको छ ।

कर्णालीबाहेक सबै प्रदेशमा संक्रमितको संख्या डेढसयभन्दा माथि छ । सबैभन्दा धेरै कोसी प्रदेशमा १३ हजार ६८६ जना संक्रमित भएका छन् ।

वाग्मतीका धादिङ, काठमाडौं, भक्तपुर र ललितपुरमा पनि संक्रमितको संख्या निरन्तर बढिरहेको छ ।

वाग्मतीमा दुई हजार ९६७ जना संक्रमित भएका छन् । मधेसमा १८३, गण्डकीमा ६३२, लुम्बिनीमा ३४०, कर्णालीमा ४१ र सुदूरपश्चिममा ५४० जनामा संक्रमण पुष्टि भएको छ ।

अगष्टका २४ दिनमा मात्रै देशभर १० हजार ५४६ जना डेंगी संक्रमित भएको ईडीसीडीको तथ्यांक छ ।

पोष्ट मनसुनसम्मै रहन्छ डेंगी
वरिष्ठ संक्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुन पोष्ट मनसुनसम्म नै संक्रमण फैलिरहने विगतका तथ्यांकहरूले देखाएको बताउँछन् ।

“यसअघिका वर्षहरूमा पनि कुनै एक निश्चित क्षेत्रमा पोष्ट मनसुनमा पनि डेंगी फैलिएको देखिएको छ, योवर्ष पनि नियमित संक्रमण बढ्ने र वर्षातको अन्तिमसम्म नै रहने सम्भावना हुन्छ”, उनी भन्छन् ।

अघिल्लो वर्ष वा तीन वर्षअघि संक्रमण देखिएकै ठाउँमा फेरि उच्च भने नहुने विश्वभरकै तथ्यांकले देखाएको उनी बताउँछन् ।

“गतवर्ष देखिएकै ठाउँमा फेरि संक्रमण उच्च नहोला तर, नयाँ ठाउँमा फैलिँदा संक्रमितको संख्या गत वर्षहरूमाभन्दा उच्च नहोला भन्ने अवस्था चाहीँ रहँदैन,” डा. पुनले भने ।

प्रतिक्रिया दिनुहोस्