ग्लोबल आईएमई र बीओके क्यापिटल मर्ज

काठमाडौं, भदौ ५ । ग्लोबल आईएमई बैंक लिमिटेडको सहायक कम्पनी ग्लोबल आईएमई क्यापिटल लिमिटेड र साबिक बैंक अफ काठमाण्डू लिमिटेडको सहायक कम्पनी बीओके क्यापिटल मार्केट लिमिटेड मर्ज भएका छन् ।

दुवै कम्पनी मर्ज भई ग्लोबल आईएमई क्यापिटल लिमिटेडको नामबाट एकीकृत कारोबारको औपचारिक रूपमा शुभारम्भसमेत भएको छ ।

ग्लोबल आईएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू मर्ज भई २०७९ पुस २५ गतेदेखि ग्लोबल आईएमई बैंकको नामबाट एकीकृत कारोबार शुरु गरेका थिए ।

नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले काठमाण्डौमा आयोजित एक विशेष कार्यक्रमबीच एकीकृत कारोबारको औपचारिक रूपमा शुभाारम्भ गर्नुभएको छ ।

बोर्डका अध्यक्ष हमालले मर्चेन्ट बैंकर कम्पनीले निष्कासन तथा बिक्री प्रबन्ध तथा प्रत्याभूतिकर्ताको रूपमा कार्य गर्दा संस्थागत दायित्वसमेत बहन गर्दै थप वित्तीय विश्लेषणको आवश्यकता रहेको तर्फ जोड दिँदै बजारको स्थायित्व र विकासमा समेत मर्चेन्ट बैंकरको अहम् भूमिका हुने भएकोले संस्थागत सुशासनसहित प्रभावकारी सेवा प्रवाहमा लाग्न मर्चेन्ट बैंकरहरूलाई आग्रह गर्नुभयो ।

साथै उहाँले नियामकीय निकाय नेपाल धितोपत्र बोर्डले आफ्नो अभिभावकीय भूमिकासमेत खेल्दै मर्चेन्ट बैंकरहरू बजार विस्तारका सम्बन्धमा नयाँ वित्तीय औजारका लागि एक कदम अगाडि बढेमा बोर्ड दुई कदम अगाडि बढ्न तयार रहेको भन्दै बजार विकासका लागि नयाँ वित्तीय औजार ल्याउन जोड दिनुभयो ।

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले मर्जरपछि पुँजीका आधारमा दोस्रो ठूलो कम्पनीको रूपमा स्थापित भएकोमा त्यही अनुरूप सेवाको गुणस्तर कायम गरी नियामकीय निकायको निर्देशन पालना गर्दै अगाडि बढ्न सुझाव दिनुभयो ।

ढकालले नियामकीय निकाय नेपाल धितोपत्र बोर्डलाई मर्चेन्ट बैंकरहरूले अहिले गर्दै आएका कामको दायरा विस्तार र आधुनिकीकरणका लागि पहल गर्न ध्यानाकर्षणसमेत गराउनुभयो ।

प्रतिक्रिया दिनुहोस्