वीर अस्पतालमा निकट भविष्यमै अप्रेसनमा पालो कुर्नुपर्ने बाध्यता हट्ने

काठमाडौं, भदौ ४ ।  वीर अस्पतालले निकट भविष्यमा नै अप्रेसनमा पालो कुर्नुपर्ने बाध्यतालाई समाधान गर्ने भएको छ ।

वीर अस्पतालका निर्देशक डा.सन्तोष पौडेलले अप्रेसनमा महिनौदेखि पालो कुनुपर्ने बाध्यतालार्ई हटाउन अस्पताल लागि परेको बताउनुभयो । उहाँले त्यसका लागि अस्पतालको क्षमतामा रहेका अप्रेसन थे्रटरहरुलाई पूर्ण क्षमतामा सञ्चालन गर्न प्रयास गरीरहेको र करारमा जनशक्ती थप्ने योजना रहेको बताउनुभयो ।

अप्रेसनको पालो कुर्नुपर्ने लगायतका समस्या सम्बोधन हुनेगरी बिस्तारित अस्पताल सेवा सञ्चालनका लागि समिति गठन भएको थियो । समितिले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तय गरेका कार्र्यविधि निर्देशिका र अस्पतालले गर्र्नसक्ने विषयलाई लिएर तयार पारेको प्रतिवेदन अस्पतालले प्राप्त गरिसकेको छ ।

डा.पौडेलले ग्याष्ट्रोसर्जरी र युरोलोजीमा केही जनशक्ती अभावका कारणले सेवा सुरु गर्न नसकेकिएको बताउनुभयो । सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले अप्रेसन गर्नुपर्ने जटिल बिरामीलाई पालो कुर्नु नपर्ने गरी वीर अस्पतालले कार्ययोजना बनाइरहेको बताउनुभयो । उहाँले आकस्मिक सेवाका लागि अहिले पनि एउटै बेडमा दुई÷तीन जना बिरामीलाई सेवा दिनुपर्ने बाध्यता रहेको बताउनुभयो ।

डा.पौडेलले आकस्मिक सेवामा गम्भिर बिरामी र सामान्य प्रकृृतिका बिरामीको प्राथमिकिकरण गर्न थालिएको भन्दै जति नै बिरामी थपिएपनि आकस्मिक सेवामा जटिल प्रकृतिका बिरामीलाई आकस्मिक कक्षको छुट्टै क्षेत्रमा सेवा दिएको बताउनुभयो । उहाँले अप्रेसन कक्षलाई सदैव चलायमान बनाउने गरी लागेको बताउनुभयो ।

डा.पौडेलले ल्याब सेवा पनि बिहानदेखि नै सञ्चालन गर्ने व्यवस्था मिलाइएको बताउनुभयो । यसअघि बिहान ९ बजेदेखि सेवा दिने गरेको वीरले हाल बिरामीको चापलाई मध्यनजर गर्दै बिहान ८ बजेदेखि ४ बजेसम्म सेवा प्रवाह गर्दै आएको जानकारी दिनुभयो ।

वीरमा नर्सिङ जनशक्ती थप भएपछि बन्द अवस्थामा रहेको ७० शैय्या सञ्चालनमा आएको छ । वीर अस्पतालले आकस्मिक सेवा निःशुल्क सञ्चालनका लागि बजेट पर्याप्त नहुँदा अफ्ठ्यारो भएको बताएको छ ।

डा.पौडेलले आकस्मिक सेवा निःशुल्क गराउन सरकारले तीन करोड बजेट विनियोजन गरेपनि त्यो पर्याप्त नहुने बताउनुभयो । उहाँले स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतबाट आकस्मिक सेवा निःशुल्क गराउन निर्देशन प्राप्त गरेको र बजेट अपुग भए शोध भर्ना हुने आश्वासन पाएको बताउनुभयो ।

अस्पतालले आधारभुत स्वास्थ्य सेवादेखि विशिष्टीकृत स्वास्थ्य सेवा एउटै छानामुनि प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्