महँगीको मारमा उपभोक्ता , सरकारी अनुगमन शून्य

काठमाडौं, साउन २४ ।  बजारमा एक्कासी बढेको महँगीले आम उपभोक्ताको ढाड सेकेको छ । दैनिक उपभोग्य सामानको निरन्तर मूल्यवृद्धिका कारण उपभोक्ता मर्कामा परेका हुन् ।

भारतले चामल निर्यातमा प्रतिबन्ध लगाएपछि व्यापारीहरुले कालोबजारी शुरु गरेका छन् । भारतको पछिल्लो निर्णय अगावै भित्रिएका चामलमा समेत महँगो मूल्य थोपरिएको छ ।

भारतमा गोलभेडाको चर्को मूल्यवृद्धिपछि त्यसको असर नेपालमा पनि देखिएको छ । भान्छामा प्रयोग हुने जिराको मूल्य पनि छोइनसक्नु छ । हरियो तरकारीको मूल्य त्यसैगरी बढेको छ । घट्दो आम्दानी र बढ्दो महँगीले धेरै तर विपन्न वर्गलाई निकै अप्ठेरोमा पारेको छ । तर, सरकारी निकायबाट हुने बजार अनुगमन शून्यप्रायः छ ।

२० किलो प्रतिबोरा चामलको भाउ तीन सय रुपैयाँसम्म बढेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गरेको अनुगमनमा समेत व्यवसायीले चामलमा अत्यधिक मूल्य बढाएको पाइएको छ ।

तर, पनि सरकारले मूल्यवृद्धि नियन्त्रण गर्न सकेको छैन । भारतको चामल निर्यात बन्देजको बहानामा नेपाली बजारमा अस्वभाविक मूल्य बढाएको भन्दै विरोध भइरहेको छ ।

नेपाली समाजमा अब चाडबाड शुरु हुँदैछ । यस्तै अवस्था रहेमा सर्वसाधारणलाई दशैं, तिहार, छठलगायत पर्व मान्न पनि महाभारत पर्ने निश्चित छ ।

प्रतिक्रिया दिनुहोस्